प्राचीन कालमै जन्मे
जल, जङ्गल, जमीन र जनावर
जसका जबर्जस्त चाहनामा
सृष्टि सम्हाल्न सक्रिय
मानव जाति जन्मिए / जन्माइए !

या भनौँ
मान्छेकै रुपका
भगवान जन्मे / जन्माइए
प्रकृति सम्हाल्न
र आदिमानवहरू
त्रिकोणात्मक प्रवृत्तिका
देव, दैत्य, र मानवहरू जन्मे / जन्माइए
तसर्थ म भन्छु :
मान्छेभन्दा प्रकृति पहिले
र त भनिन्छ :
“ब्रह्मा कमलैमा, विष्णु बसे जलैमा”

नयाँ सृष्टि प्रति सम्मोहित प्रकृति
मानव सङ्तमा खुशी थिइन्
पर्यावरणको संरक्षणमा ढुक्क थिइन् !
ओढेर छाता ओजनको
प्रकृतिले स्वच्छ सास फेरेकी थिइन् !

प्रकृतिको काखमा हुर्के-बढेका मान्छेहरू
आफ्नो उत्पत्ति बिर्सेर
काखमा नै लात हान्न थाले !

अहिले त्राहिमाम् प्रकृति
लामो सुस्केरा हाल्दैछन्
र सोच्दैछन् :
व्यर्थै जन्माएछु कृतघ्नलाई !

चलाएको छ साम्राज्य
मान्छेले
आदिवासी सृष्टिका
जल, जङ्गल, जमिन र जनावरमाथि
र बिर्सेको छ
प्रकृतिको गुन !

जब मान्छेको अतिक्रमणमा
हदैसम्म सहनशिल जनावरहरू
स्वतन्त्रताको लागि उठ्नेछन्
जर्ज अरवेलको ‘एनिमल फार्म’ मा झैँ
र साथ दिनेछन्
जल, जमिन, र जङ्गलहरूले
त्यतिबेला
मान्छेहरू कहाँ जानेछन् ?!

तसर्थ
बेलैमा सोचौँ, बुझौँ र विवेकको प्रयोग गरौँ
चाहे कम्प्युटर मान्छेको प्रयोग गर
चाहे मेसीनको
प्रकृतिलाई आहत पुर्‍याउला
तर विनाश गर्न सक्दैनौँ !
मान्छेको मात्रै हो र प्रकृति ?