१) दीनदयाल शर्मा बडो दयालु छन्

– एल.बी. क्षेत्री

१.
दीनदयाल शर्मा
बडो दयालु छन्
बिहानै बिहानै
पोखरीमा पुग्छन्
माछालाई माया गर्न
खान दिन्छन् गड्यौला
बल्छीमा हालेर
२.
दीनदयाल शर्मा
बडो दयालु छन्
रगत देख्न सक्दैनन्
कुकुरलाई धेरै माया गर्छन्
बिहानै बिहानै
आफैले काटेर खान दिन्छन्
कुखुराका चल्ला
३.
दीनदयाल शर्मा
बडो दयालु छन्
सेता परेवा पाल्छन्
आफ्नो आँगनको खोरमा
र भन्छन्
शान्तिको प्रतीक हो यो चरो
साँझ सिसाको गिलासमा
कोदोको सेतो झोल
र कचोरामा परेवाको भुटुन लिएर
शान्तिजप गर्छन
रात्रि भोजन अघि

२) शब्दहरू, ए शब्दहरू !

– रामगोपाल आशुतोष

ए शब्दहरू
किन ढुङ्गाजस्तै मौन तिमीहरू
बोल, चिच्याऊ, फलाक फोहर शब्दहरू
लेख अघोरी भित्तामा
अश्लिल शब्दहरू
भट्याऊ जँड्याहा देउसीहरू
उराल रक्स्याहा नाराहरू !

तिमीहरूलाई सुहाउँदैन मौन मरेको
पागलबनपागल
वाचालबनवाचाल

चोर विदेशी शैलीका गोरु
र नार आफ्नो परतान्त्रिक टारी खेतमा
डाँका हाल
अघिल्लो पङक्तिका विम्बको भकारी
अपहरण गर
आतङ्ककारी घोषित ईश्वरको छोरा, मान्छेका भाइ
अछुत किनाराका अक्षरहरू

जम्मा गर पैँचो मागेको शहरको सडकमा
र सुकाऊ छिमेकीको खलोमा
अनि छपाऊ
बहुप्रतिष्ठित अखबारमा रङगीन शीर्षकसहित !

देवकोटाहरू, रिमालहरू, भीम निधिहरू
बासु शशीहरू, भूपीहरू, सिद्धिचरणहरू
पारिजातहरू, कृष्ण भूषणहरू
तिमीलाई बधाइ दिन
हातमा आँशुको फूल लिएर लामबद्ध रहने छन्

पाखण्डी अवसरवाद
हातहातमा तातताता बीर्य लिएर बस्ने छन्
कवि विप्लवले भनेझैँ बोकाजस्ता विचित्र बीर्यहरू

तिमीलाई पुरस्कृत गर्न
टोलटोल, गल्लीगल्ली, भट्टीभट्टी
नाम कमाएका ठेकेदार गेस्ट हाउसहरू
निमन्त्रणा बाँड्न आउनेछन्

शब्दहरू, ए शब्दहरू !
मौन नबस
चोर विम्ब, सापटी माग सम्पादन
चोर, विनोदविक्रमको विम्ब चोर,
बुद्धको शान्तिमा विचार प्रहार गर
चोर, प्रतिसरा सायमीलाई चोर,
जो ह्याज्रोको स्वरलाई चोर
ह्यारियट टबम्यानले जस्तै दासताबाट मुक्त हुन
सन्तहरूको आवाजमा मिसाइल ताक

मनुको विचारमा डाँका हाल
लुट, सुरेश किरणको शैली लुट
शक्ति केन्द्रहरूको निद्रामा हमला गर
सम्पादक विहानहरूको शान्ति भङ्ग गर
संयोजक दिनहरूको जागिर छुटाऊ
गुरिल्ला योद्धा नादेज्दा क्रुप्सकायाले झैँ
स्कूल बनाऊ र शालिक भत्काएर केटाकेटीलाई ज्ञान देऊ

ए वैरागीशान्ति,
मातेको मान्छेले झैँ भाषण गर
आक्रमण गर किनारा किनाराबाट

ध्यानले सुन कवि पाशलाई
सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरुको मृत्यु हुनु !
ए विप्लव समय,
सुन त
कति बेखबर, गैरजिम्मेवार यी शब्दहरू
उर्दी देऊ न कस्मेटिक शब्दहरूलाई
— पागल बन पागल !!

ए भुपीन,
ओर्ल सुप्लाको हवाइ जहाजबाट
र, हल्ट भन हल्ट !
र, शब्दहरूलाई आदेश देऊ
यसरी चुप नबस्न भनिदेऊ
एञ्जेलो हेलो माया एञ्जेलो
उत्पादन गर कारखानाबाट प्रश्नहरू
र, डराउन अभ्यस्तहरूलाई सुनाइदेऊ
चे ग्वेभाराको सन्देश –
क्रान्ति सङ्गीतमय हुँदैन, मुक्तिको यात्रा कठोर हुन्छ’
र सुनाइदेऊ मेरो सन्देश पनि
रिसाएको मान्छेले आगो ओकल्छ आगो
वेद पढेर बस्दैन

श्रवण दाइ
उर्दी देऊ न उर्देव
गाउन भनिदेऊ न
माथिमाथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
सुन रे सिया राम……..

सरु दाइ
पागल बस्तीबाट चिच्याऊ र, बताइदेऊ कि
लक्ष्मी हजुरबाको पागल शब्दले गलहत्याएर नै
शंकर भन्ने लामिछाने बने ।

पागल शब्दहरूले भने
— “रिपिटिशन इन द सेइम लाइन इज वर्थलेस !“
लामिछाने मौन बसेनन्
उनका शब्दहरू बहुलाए, चिच्याए, जोडजोडले हाँसे !

श्यामल दाइ
किन हतारको यात्रामा यी मान्छेहरू ?
किन चुपचाप लुतो कन्याइरहेका ?
कवि अभयले जस्तै सन्देह गर्न भनिदेऊ
कोरा राष्ट्रभक्ति
मृतशब्दका पारम्परित भक्तिगान सत्ताका प्राज्ञहरूमाथि
अरूको नसुने नि तपाईँको सुन्छन् कि
भनिदिनुस् कि
—हल्ला गर, चिच्याऊ, नारा लगाऊ

शब्दहरू, ए शब्दहरू !
बिन्ती तिमीहरू मौन नबस ।

३) ढोका

– शरद ऋतु

आफ्नै काया खनेर
गहिरो बनाए जग
छाला उधारेर
सम्याए भित्ता
पैताला ताछेर
लिपे मझेरी
मगज खिपेर चढाए धुरी

एउटा सिङ्गो घर बनाए

उड्दै–उड्दै आए नीला चराहरू

दलिनमा आकाश बस्यो
हिँड्दै–हिँड्दै आएर मूलढोकाबाटै भित्र छिर्यो घाम

उज्यालो मगमगायो
रूखका हाँगा–हाँगामा झुण्डिँदै आयो हावा
जस्केलाबाट छिर्यो

पक्षघातहरू उडाएर लग्यो

समयको बूढो साइरन बजाउँदै
थर् थर् थर् थर्
पटरी थर्काउँदै
आकाश फुटाउँदै
कति रेलहरू आए–गए
कति पतलूनका रङहरू पखालेर बग्यो वर्षा
शून्यतालाई थिचेर कति आवाजहरू फलाम ठोक्किए
कति मस्तिष्कमा उध्याइए छुरा

ठुन्काइए समयका मुनाहरू

अफशोच
कागजका ईश्वरहरू नै छुटिगए
इतिहासको डिकोबाट

ती
जसले
आफ्नै काया खनेर
गहिरो बनाए जग
छाला उधारेर
सम्याए भित्ता
पैताला ताछेर
लिपे मझेरी
मगज खिपेर चढाए धुरी

एउटा सिङ्गो घर बनाए
तिनीहरू नै घर बाहिर परे

अब कसले खोल्छ होला मूलढोका ?
कसले खोल्छ हँ ??

४) सखी, आज तिमीले मेरोसामु अभिनय नगर्नू

– अनमोल कँडेल

सधैँजसो
आज तिमीले आफूलार्ई मेरोसामु नलुकाउनू
अर्को मान्छे बनेर नदेखाउनू
अभिनयको तह जो तिम्रो आँखामा स्पष्ट टल्किएको छ,
म देख्न सक्छु सखी
आज तिमीले मेरोसामु अभिनय नगर्नू ‘

तिम्रो अक्मकिएको बोली
तिमीले आफ्नो गहिरो सत्य लुकाउन बोलेको – सतही भूट हो ‘
अस्पष्ट चालहरू
तिमीभित्रको छटपट्टीले किनारामा फ्याँकेका लापरवाह छालहरू हुन् ‘
आँखाको फुस्रोपन
र, मुस्कानको रेखामा समानान्तर बहने अँध्यारो रहस्य,
तिमीले मसँग लुकाएर राखेको अव्यक्त मान्छेको हो ‘

के अभिनय गर्छौ मसँग पनि ?!
मेरो पनि तिम्रोजस्तै
छातीभित्र – घाउहरूको जङ्गल छ‘
तिम्रो वास्तविकता – म देख्न सक्छु
तिम्रो आँखाको किनारबाट चुहिरहेको वेदना
मेरो आँसुमा पनि टल्किन्छ
तिम्रो विवशता – म बुझ्न सक्छु
हृदयको सत्य लुकाउन
तिमीले पहिरिएको भूटको आवरण मसँग पनि छ

मलार्ई थाहा छ, तिमी भित्रभित्रै,
कमजोरीको अन्तिम बिन्दुमा पुगिसकेका हुन सक्छौ,
तिमीलार्ई फेरि अर्को एउटा हौसला दिएको अभिनय गर्दिन,
बरु आज म – तिम्रो आँसु थाप्न आफ्नो हत्केला उठाउँछु,
भनिदेऊ मलार्ई,
मुटुभित्र पागलपनको आवाजहरू गुम्सिएर बसेका छन् भने
आज तिमीसँग हृदय साटासाट गरेर तिमीलार्ई सुन्छु,
जीवन, सहनै नसक्ने गरी दुखेको छ भने
रोइदिन्छु बरु अङ्गालो मारेर

मलार्ई थाहा छ अक्सर अभिनयहरू
भूट देखाउनभन्दा सत्य छुपाउन बढी खुङ्खार हुन्छन्,
आज हामी एक अर्कासँग अभिनय नगरौँ,
आज हामी एक अर्कालार्ई
आफूभित्रको त्यो एकान्तमा भेटौँ
जहाँ अक्सर हामी एक्लै हुँदा मात्र पुग्ने गर्छौँ
अरू सबैलार्ई प्रवेश–निषेध गर्छौँ
के थाहा? यो अभिनयहरूको जालोले ढाकिएरै
भोलि तिमीलार्ई गुमाउन सक्छु मैले
अथवा मलार्ई नै गुमाउन सक्छौ तिमीले
जसरी प्रत्येक दिन
अन्जानमै गुमाइरहेका हुन्छौँ हामीले
एक …एक… गर्दै उमेरका पानाहरू

सखी, आज हामी भेटौँ एक–अर्कालार्ई त्यो केन्द्रमा
जहाँ हामीले स्पष्टसँग देख्नेछौ
एकअर्काको आँखाभित्र लुकेको ‘जिउँदो रहस्य’
त्यो रहस्य,
जो जीवनभरि हाम्रो छातीभित्र आगोझैँ जलिरहन्छ
जन्मने गर्दछ जो अक्सर – नवजात नानीहरूको आँखामा
र, बिलाउने गर्छ रहस्यमा – मरेको लासको परेलीबाट ‘ !

५ ) कविता लेख्नै बिर्सिएछु

– केशव गजुरेल

राति सपनामा
कविता लेखौं भनेर बसेछु
आफ्नै बारेमा।

लेख्ने बेलामा –
आकाशमा उडिरहेको परेवा
तिर लागेर भुइँमा खसेको देखेछु
आधा रक्सीले भरिएको बोतल देखेछु
आधामै निभाएर फालिएका
निभ्दै निभ्दै गइरहेका
चुरोटका धुमिल ठुटाहरु देखेछु ।

खै कुन्नि कति बर्षअघि छादेको गन्ध
हावामा फैलिरहेको सुइँको
नाकले थाहा पाएछ,
उजाड रुखहरु त्यसै हल्लिरहेको देखेछु
पृथ्वी त्यसै त्यसै काँपिरहेको देखेछु
समयलाई अस्तित्वको असीम उदासीनताले
दृढतापूर्वक थिचिरहेको देखेछु।

विशाल तेजवान सुर्य
अँध्यारोमा बाटो बिराएर
साँघुरो जंगलभित्र हराएको देखेछु।

खै कसले पो हो
उपहारस्वरूप दिएको रंगीन इन्द्रेणी
खुइलिएर रंगहीन बन्दै गएको देखेछु
खै कसले पो हो
फूल हेर्दै पर्खिएर बस्न ठेगाना दिएको,
त्यही ठेगानाभित्र छिर्ने मुल गेटमा
पहिरो खसेर बाटो थुनिदै थुनिदै गएको देखेछु।

पृथ्वीमा अभुतपुर्व घटना घटेछ
काँडाहरु फूल भएछन्
फूलहरुले घोच्न थालेछ
म यो घटनाको साक्षी भएछु।

आत्माले छुट्टी मनाउन
निकै परको
अनकन्टार गुफातिर घुम्न निस्किरहेको देखेछु।

हिउँदे खोला सुसाइरहेको देखेछु
बर्खे खोला सुकेर बगर भएको देखेछु
मान्छेले कुल्चिदै हिंडिरहेका
मान्छेका पाइतालाबाट जोगिएर उडिरहेका
सुकेका पातहरु हेर्दै टोलाइरहेको रहेछु।

आफ्नै बारेमा
त्यो पनि सपनामा
के कविता लेखिन्थ्यो?
आँखा अगाडिका दृश्यहरु हेर्दाहेर्दै
कविता लेख्ने कुरा चाहिँ भुसुक्कै बिर्सिएछु ।

६ ) म वियोगमा बाँचिरहेको थिएँ

– विद्याश्री सिंह

सम्झेर रोइदिन्थे !
बिर्सनलाई रोइदिन्थे !
बिर्सन नसकेर रोइदिन्थे !
बिर्सन्छु कि लागेर रोइदिन्थे !

आँसु सँगै हाँसिरहेको हुन्थे !
आफै सँग बोलिरहेको हुन्थे !
सबै सपना भैदियोस सोच्थे !
सबै सपना मात्रै रहेछ सोच्थे !
सबै सपना मात्रै हुनेभयो सोच्थे !

बन्द कोठामा हुन्थे !
साँघुरो बाटोमा हिड्थे !
चिसो पानीमा डुब्थे !
अध्यारो कुनामा पल्टन्थे !

डराएको हुन्थे !
टोलाएको हुन्थे !
रिसाएको हुन्थे !
आत्तिएको हुन्थे !
थर्कन्थे,थकित हुन्थे !
निराश रहन्थे,नीसर हुन्थे !

यो उहिल्यैको कथा हो
प्रेममा बाँच्नु भन्दा एक युग पहिला,
म ‘प्रेमी’ भएर बाँचेको थिएँ
केही पाइलामै हराएको थियो बाटो
करिब मध्याह्नतिर बद्लिएको थियो मौसम
म यात्रा सम्झेर खिन्न भएको थिएँ
म बिहानी सम्झेर दुखेको थिएँ

अहो!
कति विक्षिप्त थिएँ
कस्तो नादान थिएँ
एक समय, म वियोगमा बाँचिरहेको थिएँ ।

७ ) सम्बोधन

– अस्मिता पौडेल

जम्दाजम्दै पग्लेर तिमी बन्नेछौ-गहिरो समुन्द्र
पर्खिँदापर्खिँदै थाकेर तिमी बन्नेछौ -तातो सूर्य

तर म ओठमै समाहित गर्नेछु
तिम्रो ओठबाट झरेका हरेक अक्षरहरू

मलाई थाहा छ,
तिम्रो ओठबाट आगो खसेपनि
मलाई पोल्नेछैन

तिम्रो ओठबाट पानी निस्किए पनि
मलाई डुबाउनेछैन

प्रिय सम्बोधन ,
म तैरिरहन चाहान्छु
तिमीले नै
सम्बोधन गरिदिए जस्ता लाग्ने
शब्दहरुको तरलता माथी !

सम्बोधन २.

तिम्रो प्रेमको स्पर्श बाट छुट्टिनैपर्ने
तिमीमै ठेस लागेर लत्पतिएको
रक्तिम सिम्फोनी म

सपनाहरुको चिहानभित्र पुरिनुपर्ने
प्रेमकथाको जिउँदो पात्र म

बग्न बिर्सेको हिउँनदीझैँ बनुँला
या
गर्मियामको इनारजस्तो गहिरो निराशामा डुबुँला

हुन त
तिमीसगँ हुनेछैनन्
सम्झिनका लागि सम्झनाका सामाग्रीहरु

र मसगँ पनि हुनेछैनन्
अल्झिनका लागि बाहानाजस्ता औजारहरु

तरपनि बन्न नदिनु तिमीले
हृदयमा टाँसिएको
मेटिनैपर्ने दाग !