चाहे महलको या झुपडीको बास होस्
लाग्दैन कोही कसैको दास होस्
जीवन-यात्रा कुनबेला कहाँ रोकिने हो थाहा छैन
चाहे जतिसुकै अकूत सम्पत्तिको रास होस्

चाहे हातमुख जोर्न दिनरात दुःख पाएको होस्
चाहे मोटापा घटाउन डाइटिङ र जिम धाएको होस्
बाध्यता या रहर आ-आफ्नै होलान् जिउने
लाग्दैन कोही कसैसँग हेपिएर बस्न चाहेको होस्

चाहे जिन्दगी सुखसयलमा खुशीले जिएर नाचोस्
चाहे जिन्दगी दुःख पीरमा आँशु पिएर बाँचोस्
आफ्नै परिश्रममा गर्वले जिउने आँट छ भने
कोही किन कसैको दयाको भिख लिएर बाँचोस्

चाहे कोही शानले शिर ठाडो पारेर बाँचोस्
चाहे कोही लज्जाबोधले शिर निहुरी पारेर बाँचोस्
आ-आफ्नै हैसियत र परिवेशमा बाँच्ने स्वतन्त्रता छ भने
कोही किन कसैको नक्कल सारेर बाँचोस्

चाहे कोही भावनाको भेलमा तैरिएर बाँचोस्
चाहे कोही आशक्तिको बेहोसीबाट बौरिएर बाँचोस्
बगलीमा धारिलो छुरा लुकाएको देख्दादेख्दै
कोही किन कसैसँग लस्सिँदै रौसिएर नाचोस्

चाहे कोही इगोले थिचिएर बाँचोस्
चाहे कोही बिगोको बोझले किचिएर बाँचोस्
चिरस्थाई भन्ने केही पनि छैन भन्ने जान्दाजान्दै
कोही किन लोभ र ईर्ष्याले पिल्सिएर बाँचोस् ।

*****समाप्त*****