ए स्वर्गवासी बा
हाम्रा यी भौतिक आँखाहरूले सीमितताले त्यो लोक देख्ने त कुरै भएन
के त्यहाँबाट यो लोक चाहिँ देखिन्छ ?
म बच्चै हुँदा
हजुरले भनेजस्तै
मान्छे मरेपछि तारा बन्ने कुरा
अहिले नपत्याए पनि
अझै रातमा देखिने ताराहरूमा हजुरलाई नियाल्न मन लाग्छ
कहिलेकाहीँ
हजुरकी सानी नातिनीले हजुरबा खोई भन्दा
हजुरकै जस्तो गरी सबैभन्दा चम्किलो तारा देखाइदिन्छु…
खै के भनौँ,
यहाँ, मेरो जिन्दगी चलेकै छ, चक्र घुमिरहेकै छ
जीवनको तातो भट्टीमा
पाकिरहेकै छु
कहिले प्रशंसाका शब्दहरू पनि भेटेको छु
कहिले गाली र ढुंगाहरू पनि व्यहोरेको छु
सारा प्रयत्न लगाएर मलाई लडाउने पनि भेटेको छु
थोरै नै सही
यदाकदा साथ दिने साथीहरू पनि भेटेको छु
तर मेरो अनुहार हेरेरै
दुःखको गहिराई थाहा पाइदिने दोस्रो मान्छे भने भेटेको छैन
कहिलेकाहीँ
रात्रीकालीन विश्रामका पलहरूमा
अवचेतन मस्तिष्कको सुदूर गहिराईमा
स्वप्नको दृष्यहरूमा, भेट्छु हजुरलाई
भोकोले भोजन देखेजस्तै…
रनभुल्लमा परेर छाया देखेको हुँ कि झैँ लाग्छ घरिघरि…
यस्तो लाग्छ कि,
यदि यी दुई लोकहरूबीच सीधा सम्पर्क हुने भए
व्यथैव्यथा बोकेका मजस्ता करोडौं मानिसहरू
व्यथा सुनाएरै हल्का हुँदा
पृथ्वीको भारै पो कम हुन्थ्यो कि…
घरमा,
हजुरको पदमा म आसीन छु अहिले
आमा चाहिँ हजुरआमाको पदमा बढुवा हुनुभएको छ
पुरानो मेरो ठाउँ, छोरीहरूले सम्हालेका छन्
मेरो उपद्रवमा हजुर हाँसिदिए जस्तै
उनीहरूको चकचकमा म पनि त हाँस्छु नि
तर
हरेकपटक यसरी हाँस्दा,
हजुर हाँसेकै दृश्य झल्को बनेर आइदिन्छ
अनि हाँसोसँगै
हजुरको यादमा आँखा रसाउँछ
अनि यदाकदा रुन्चे बन्न पुग्छु
जिन्दगीका कठिन क्षणहरूमा
के गरौं र के नगरौं भन्ने दोसाँधमा परेको बेला
संसारको यस चक्रमा च्यापिएर असह्य पीडा हुँदा
त्यो सम्पर्कै नहुने हजुरको दुनियाँमा फेरि सम्पर्क गर्न मन लाग्छ
हजुरलाई खोज्न मन लाग्छ…
अनायास स्वप्नमा हजुर भेटिएको एकाध रात गुजारेपछि
बिहानको सुर्योदयसँगै एक किसिमको दिव्य ऊर्जा भरिएर आँउछ
अनि
आँखाको कुना पुछेरै सही
हजुरले सिकाएका
पितृभ्यः स्वधायिभ्यः स्वधा नमः लगायतका मन्त्रहरू जप्दै
हजुरलाई जल चढाउँछु
के मैले दिएको जल हजुरले पाउनुभएको छ त बा?
वर्षैपिच्छे मैले दिने पिण्डपानीले मात्र
हजुरको गुजारा चलेको छ त बा ?

भानु १०, तनहुँ