भर्खरै भर्खरै तिमीले
बामे सर्दै गर्दा
ताते ताते सिकाएर
थिर थिर थिर – थिर गराएर
मेरा यी हत्केलाका औँलाहरूले
तिम्रा ती सुकोमल औँलाहरूलाई
डोर्याउँदै गर्दा
मेरो अभिभावत्वको अन्तर सचेतनाले
तिम्रो हृदयलाई यी औँलाहरूमार्फत स्पर्श गर्दै गर्दा
मैले गरेको अलौकिक प्रेमाभास
यदि सपना थिएन भने
आज किन
समयसँगै चाउरिएका
मेरा यिनै हत्केलाका संवेदनशिल औँलाहरू
पाटी पौवा अनि वृद्धाश्रमभरि
बुढ्यौली र एक्लोपनको छटपटीले
हरेक पाइलामा थर-थर थर-थर काँपिरहेछन्-
भित्र भित्रै – असंवेदनशिल भएर।

पर्थ, अस्ट्रेलिया