कवि !
रहन देऊ हामी बीच
एउटा खास दूरी
तिमीलाई म सधैं विशेष लाग्नेछु

कुशल कारिगरको अनुपम कलाले
मन्त्रमुग्ध दर्शकझैं
मलाई देखेर तिमी अवाक् हुन्छौ
रतिको प्रेमपाशले घायल कामदेव झैं
मेरो रूप देखेर तिमी कायल हुन्छौ
लाग्दै जान थाल्छु तिमीलाई म
बन्दाकोपीझैं
पत्रपत्रमा लुकेको एक गहन रहस्य

टाढाबाट हेर्दा
वस्तुको केवल रूप देखिन्छ
कवि,
मुस्किलले देखिने दूरीबाट
देखेर केवल बाह्य आकृति
मेरो रूपको बयानमा
तिमी अनेकौं रूपकहरू खर्च गर्छौ
बनाएर स्वप्निल बिम्ब
सुन्दर हरफ रचना गर्छौ
भीडको गडगडाहट ताली लुट्छौ
म मिथक बन्छु रहस्यको
बरू पस्क मेरो मिथकीय सुगन्ध
सौन्दर्यको बजारमा
तर
मेरो नजिक आउने प्रयास कदापि नगर

कवितामा
मेरो रूपको बयान गरेझैँ
तिमी हिमालको पनि गहिराइ खोज्छौ
तर
सधैँ तिम्रो शिर उठाइराख्न
उसले भोगेको कथा त देख्दैनौ !

आगोले झैँ
आफैँलाई पोलिरहेको
हिउँको व्यथा त लेख्दैनौ !

झरनाको
सुमधुर स्वर सुनेर
मन्त्रमुग्ध त बन्छौ
तर छाती चिरेर निस्केको
धर्तीको मौन पुकार त सुन्दैनौ !

शक्तिको स्वच्छन्द दरबारभित्र
अवरोधको सीमा नाघ्न असमर्थ
पौराणिक परीझैँ
भूगोलको अगम्य परिधिभित्र
म छु कैद !

छोउ आँखाले मेरो दुर्लभ कौमार्य
हेर ओठले मेरो स्निग्ध शरीर
अथवा, कल्पनाको तानमा
बुन सुन्दर सपना
तर,
यदि, बनाउनु छ भने दीगो
सम्बन्ध अझ मसँग
मेरो नजिक आउने प्रयास कदापि नगर

कुरा यो होइन कि
तिम्रो लगावप्रति म
सर्वथा अविश्वस्त छु; अनभिज्ञ छु
बरू; कुरा यो हो कि,
नजिकैबाट हेरेपछि मलाई
लागूजस्तो लठ्ठ पार्ने
तिम्रो कविताको लय टुट्नेछ
भत्किनेछ भावनाको अविच्छिन्न प्रवाह
र किचिनेछु म
तिम्रो, दृष्टिकोणको बनिबनाउ भारीले

जब नजिकबाट देख्नेछौ
सौन्दर्यको आवरणभित्र
दुखको वास्तविक मौनगाथा ।