तपाईं सफल बन्न चाहनुहुन्छ ?
एउटा सजिलो उपाय सुझाउँछु
समय सुहाउँदो अस्त्र सिकाउँछु:
तपाईं जहाँ हुनुहुन्छ, जेमा हुनुहुन्छ
सफल भएको भ्रम पाल्दिनुस्, बस् !

कक्षामा विद्यार्थीले शान्त भएर सुने
पढाएको सबैले बुझे भन्ने ठान्दिनुस्
परीक्षामा उत्कृष्ट नतिजा ल्याए
आफूलाई सर्वोत्कष्ट शिक्षक मान्दिनुस्

जनताले भोट दिएर जिताए,
राम्रो नेता रहेछु भन्ने सोच्दिनुस्,
कहिलेकाहीँ हारिन्छ पनि, यदि हार्नु भो भने
घात भयो, अन्तर्घात भयो भन्दिनुस्

तपाईंको अगाडि सबैले हो भने
तपाईंको कुरा साँच्चै हो भन्ने ठान्दिनुस्
कसैले होइन भने या समालोचना गरे
उठ्नै नसक्ने गरेर ढाल्दिनुस्

शक्ति, सत्ता र सम्पत्ति भएकाले भने
कालोलाई पनि सेतो भन्दिनुस्
कुनै ओहदामा नभएका भुइँमान्छेले भने
सुनेको नसुन्यै गर्दिनुस्, हावामा उडाइदिनुस्
अनुयायीसँग म कस्तो छु भनेर प्रश्न सोध्नुस्
अनि यथार्थ विश्लेषणको अपेक्षा गर्नुस्
कसैको पनि विचारलाई मनन नगर्नुस्
फगत प्रतिक्रिया दिनका लागि सुनिदिनुस्

पर्दामा देखिएको सबै यथार्थ मान्दिनुस्
यथार्थ सबै पर्दामा देखिन्छ भन्ने ठान्दिनुस्
आफूलाई केन्द्रमा राखेर संसारको व्याख्या गर्दिनुस्
फरक दृष्टिकोणलाई सधैं अल्पज्ञान भन्दिनुस्

आफ्नै मापदण्डमा आफूलाई परीक्षण गर्दिनुस्
जान्नुपर्ने सबै जानिसकें भनेर सोच्दिनुस्
अहं, जड र कुण्ठालाई मूलमन्त्र मान्दिनुस्
आलोचनात्मक चेतलाई गोली मार्दिनुस्
दुई दिनको जिन्दगी सफलताको भ्रममै बिताइदिनुस् ।

पोखरा-१३, साझा