मेरो एकजोर जुत्ताको
चलाखीपूर्ण ढंगबाट हरण गरी
चोर बजारमा बेचेर कमाएको
रकमको थोरै अंशबाट
केही बोरा फुटेका शिशाका टुक्राहरू
खरीद गरी मेरो घरअगाडि
रातारात कसैले नदेख्ने गरी
फालिसकेपछि
भोलिपल्ट बिहानै
आफूसँग भएको पुरानो चप्पल
मलाई सहयोग स्वरूप प्रदान गर्छ
मेरो एक हितैषी

मेरा केही थान प्रगतिहरूबाट
भुसको आगोजस्तै आफैँमा
भित्र-भित्रै दन्किदै गरेका
मेरो लक्ष्य प्राप्तितर्फ
अग्रसर हुँदै गर्दा
मेरा शरीरबाट निस्केको
ताप र पसिना
शान्त पार्न भन्दै
बडो अट्टहासपूर्वक
आफ्ना दुई गाला खुम्च्याउँदै
एक गिलास पानी दिने गर्छन्
मेरा आफ्नाहरू,
मेरा प्रियहरू ।