चियाको बोट
कृष्ण धराबासी
उच्चता हरेकको आकांक्षा हो
अग्लो हुंदै जान पाउनु हरेकको हक हो
तर निरन्तर भाँचिदै, निमोठिंदै
होचिंदै रहनु–होचिइनै रहनु
जीवनको रुप भएको छ ।
जति पाउलिए पनि
जति मुना, पलाए पनि
जति नयाँ नयाँ टुसा हाले पनि
क्रुर नङ्ग्राहरूले निमोठिंदै जानु पर्ने
हरेक पल्टका आकांक्षा
फाँडिदै जानु पर्ने
आफ्नो अनुकुल केही हुन नसक्ने
संघै अरुकै अनुकुल भइरहनु पर्ने
यो चियाको बोट जस्तो किन छ जिन्दगी ?
यो, चियाको बोट झैं किन कुण्ठित छ जिन्दगी ?
आफै मर्न पनि नसकिने
फेदै लगाएर कोही ढाल्न पनि नआउने
जहिले पनि प्राण मात्र राखेर
फेरि ‘बौरी–बौरी’ भनिरहने
क्रुरहरूका वीच नमर्नुकै कारणले
बाँच्न विवश चियाको बोट झैं
किन छ जीवन– किन छ ?
शोषणका विरोधमा लेखिएका पुस्तकहरू
एउटा देश जत्रो दारजमा पनि आँट्दैनन् होला
अन्यायका विरोधमा मर्नेहरूका चिहान
एउटा महादेश जत्रै भूमिमा पनि आँट्दैनन होला
तर पनि यसलाई
न इतिहास दोहोरिएको भन्नु
न भविष्य निफुनिएको
किन यो समय संधै वर्तमान झैं लाग्छ
कुनै परिवर्तनविहिन कुनै अभिलाषाविहिन ।
मलाई चियाको बोटसंग विरोध छ
म जसरी भए पनि एक दिन
कल्पवृक्ष नै हुन्छु– झ्याङ्गिन्छु
निहुरिनु नै परोस् बरु मञ्जुर
सिमल हुन नसके–बाँसै सही
तर म अग्लो हुन्छु हुन्छु ।
सयौं वर्षदेखि
एकै ठाउँ एउटै बारीमा
फाँडिरहेछन्, निमोठिरहेछन्
मुन्टो चुँडिरहेछन्
कहिलै आकाश हेर्न नदिइ
मुन्टो चुंडिरहेछन्
र भन्छन्–
चिया संसार प्रसिद्ध पेय हो
यो सबैको हो– सबैको प्यारो ।
मलाई नरोक–नछेक मेरो बाटो
मेरो यात्रामा कुनै ठूलो ढुङ्गो आए पनि अडिंदैन
म समयको गति हुँ
मलाई पहाडले छेकेन, मैदानले रोकेन
म आँधी, अनिकाल र आपदमा आएँ
मैले समयको सारथी हुनु प¥यो
म विवश छु–
यद्यपि,
अब म यो जटिल र कालो नाटक गर्दिन
म चियाको बोट हुन सक्दिन ।
(मदन पुरस्कार प्राप्त कवि धरावासी प्रशिद्ध र सशक्त आख्यानकार हुनुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।