कविताः सुतौँ सुतौँ सुतौँ

उदय निरौला

सुत्नु सुतिरहनु तीनकोरी वर्ष बढी नै सुत्नु
ओछ्यान, रक्ष्यान र सबै ढिकुटीको भूगोल डाँकाहरू पसेर लुटिसक्नु
र पनि नउठी सुती नै रहनु

डाँकाले टाउकोमा बन्चरो र अनुहारको भूगोलमा बच्छिला चलाइरहँदा पनि चूपचाप सुतिरहनु
हाम्रो नियति भनौँ कि अल्छीपन भनौँ

उठेर पनि सुतेकालाई उठाउन खोज्नु धेरै जटिल
र सुतेर साँच्चै निदाएकालाई उठाउनु धेरै सजिलो
जसरी पनि सुती नै रहनु
ब्युँझिएर पनि सुती नै रहनु
र चूपचाप बलात्कार सहनु
अस्मिता लुटिएको हेरिरहनु

नामर्दीपन भनौँ कि व्यवशायीपन भनौँ
सुत्न चैँ हामी धेरै नै सुत्यौँ

सुत्दासुत्तै
शायद सगरमाथाको टुप्पो काटिनेछ
बढहर नाथेको टुप्पो निमोठ्नुको कुरा त के भयो र ?
नाथे बाँस निहुरिने नै हो उसको टुप्पो काटेको के कुरा भयो र ?

सुत्तासुत्तै नानीहरू खेल्ने मैदान काटिनु
नारीहरू नुहाउने पँधेरो लुटिनु
र लोग्नेपन नामर्दीमा बदलिनु चैँ अलि धेरै नै भयो जस्तो

सुत्न मन पराउने र हामी कीमार्थ बिउँझन नचाहनेहरूका लागि
डाँकु सुल्तान सिंह पसे पनि
डन छोटे नै पसेर आमालाई निर्वस्त्र गरे पनि
हामी ब्युँझिएर पनि सुतेकाहरूलाई अब उठाउने
सुल्तान भाइजान र छोटे भाइजानहरू नै हुन्

हामी भुत्ते लाहुरे
हामी लुते चाहुरे
हामी मीयो हराएका दाइँका खेताला
सुतौँ के फरक पर्छ र नाथे अस्मिताले
किच्च पल्टिएको बान्कीले

सबै हामी सुतिरहने कमारा कमारीहरू
कहिले फेरि चन्द्रशमसेर आउलान् त ?
हामीलाई मुक्ति दिन ?
र अमलेखगञ्ज पठाउन
त्यो पनि हामी सुतेरै सम्झन्छौँ
उठ्न हामीले बिर्सिएका छौँ
र उठेर पनि सुतेका लाज पचाइसकेका छौँ
सुतौँ
सुतौँ।

अरु दसकोरी वर्षहरू सुतौँ
के फरक पर्छ र ?
उडुसहरू नयाँ नयाँ बान्कीका आँउछन्
र बचेखुचेको रगत खाइरहन्छन्
अलिकति आमालाई गार्‍हो भएको छ
थोरै जीवनसँगिनीहरूलाई गार्‍हो भएको छ
सुतौँ
सुतौँ
सुतौँ।