नभने पनि हुने कुरा
तीन वर्षअघि केही अङ्कमै पाठकहरूमाझ लोकप्रिय रहेको साताका सात कविता ( पोस्टरमा) स्तम्भ मेरा आफ्नै व्यक्तिगत विविध कारणले निरन्तरता पाउन सकेन । यतिबेला यस स्तम्भ पुन केही नयाँ प्रारूपमा अबका दिनमा निरन्तर सम्प्रेषण हुने गरी आइपुगेको छ । म हिजोआज वैचारिक रूपमा यो कुरामा स्पष्ट छु कि सर्जक अनुहारले भन्दा पनि सिर्जनाले नै चिनिनु पर्दछ । तसर्थ पहिलेको स्वरुपमाझैँ नभएर अबको दिनमा यस स्तम्भमा सर्जकको तस्वीरबिना नै नाम र कविता मात्र प्रकाशित हुनेछ । पहिले सूक्ष्म, तीक्ष्ण र तीख्खर छोटा कविताहरू पोस्टरमा पोट्रेट भएर आउने यो स्तम्भ अबको दिनमा भने लामा / छोटा दुवै आयामका कविता पोस्टरमा नभई साधारण सर्जकको नाम र सिर्जनाको शीर्षकमा मात्रै प्रकाशन हुनेछ । पहिलेझैँ अहिले पनि समावेशी सहभागिता यस स्तम्भको मुख्य उद्देश्य रहनेछ । जसमा निकै राम्रो लेख्ने तर कम पढिएका , अलि ओझेल परिरहेका, गुमनाम बसिरहेका युवा कविहरूका कवितालाई धेरै पाठकहरूलाई पढाउने प्रयत्न रहनेछ । अग्रज पुस्तासँगै समकालीन पुस्तालाई सँगसँगै हिँडाउने प्रयास रहनेछ । सात कविमा हरेक अङ्कमा दुई अग्रज पुस्ताका कविसँगै दुई तीन समकालीन कवि र दुई नारी कविका कविता अनिवार्य रूपमा नियमित प्रकाशन हुनेछ । यहाँ ठिकठाक औसत र काँचा कविता भन्दा पनि साधनाले अलि खारिएर राम्ररी पाकेका पृथक्, नूतन कथ्यशिल्प, सबै शैली, धार र आयामका उत्कृष्ट कविताहरू पाठकहरूलाई पढाएर पछिका दिनमा पनि कविताप्रेमी पाठकहरूको पठन सहजताका लागि आर्काइभ गरेर राख्नु यस स्तम्भको एकमात्रै उद्देश्य हो यो नियम पनि हो ।
सम्पादकलाई अन्यथा रूपमा नलिइदिनुहोला प्रकाशन साहित्यपोस्टमा हुने भए तापनि सम्पादकीय चेत र क्षमता मेरो व्यक्तिगत हो । कविता छनोट मेरो व्यक्तिगत हो । मैले आफ्नो सम्पादकीय क्षमता स्पष्ट देखाउन र जति गर्नुपर्छ त्यति नै गर्न केही बलिया कविताहरू मात्रै यहाँ राख्नेछु । अन्य कविताहरू त यहीँ साहित्यपोस्टमै अन्य स्तम्भ या काव्य प्रकाशन हुने दिन भइरहेकै हुन्छन् । तसर्थ आफैँलाई पनि कविता लेखन अवधिमा ल यो चाहिँ मैले कविता नै लेखेछु है भन्ने खालको आफैँलाई पनि उत्कृष्ट लागेको आफ्नो सिग्नेचर टाइपको कविता पठाउनुहोला । म अग्रज पुस्ता नै हुनुहुन्छ भने पनि पठाउनु भएको कविता कमजोर लाग्यो भने सम्मानसाथ अर्को कविता दिनुस् न भन्न बाध्य हुनेछु । त्यसबखत नरिसाइदिनुहोला अथवा मलाई घमण्डी रहेछ भनेर नसोचिदिनुहोला । यस स्तम्भको नियम भने पनि जे भने पनि एकमात्रै कुरा यहाँ सशक्त र बलिया हाम्रो साहित्यिक वृत्तको भाषामा “मास्टरपिस” टाइपको कविता मात्रै सम्प्रेषण गर्ने प्रयास गरिनेछ । मैले यति कुरा यहाँ अहिले लेख्दा पनि लेखुँ कि नलेखुँ भनेर दोधारमै थिएँ तर अब यो स्तम्भ नियमित रूपमा निरन्तर आउने हुँदा आफैँलाई पनि काम गर्न सहज होस् र कविहरूमा पनि स्पष्टता रहोस् भनेर लेखेँ । जसले गर्दा हामी बीचको व्यक्तिगत आत्मिय सम्बन्धमा कुनै ह्रास आउने छैन भनेर विश्वास लिएको छु ।
र अन्त्यमा, भन्नैपर्ने दुइटा कुराचाहिँ यसअघि नै यहीँ साहित्यपोस्टमै प्रकाशित भैसकेको कविता नपठाउनु होला र एकपटक एउटा अङ्कमा कविता आइसकेका कविहरूले दोहोराइ दोहोराइ कविता नपठाउनु होला ।
आफ्नो रचनाको भाषिक शुद्धतामा सक्दो ध्यान आफैँ दिनुहोला । धन्यवाद !
कविताहरू पढिरहौँ । अरूलाई पनि पढाइरहौँ ।
– आर्यश
ghimireaaryash@gmail.com
१) मोटरसाइकलमा डाइनोसर
– उमेश अकिञ्चन
लोप भयो भनेको
डाइनोसर
हजार शताब्दिपछि
देखियो
मोटरसाइकलमा गुडिरहेको
डार्बिनका चेलाहरू
ग्रेगर मेण्डलका साथीहरू
खोज्न थाले
नयाँ क्रोमोजमको म्यूटेसन
अचम्म
डेमलरलाई माथ खुवाउँदै
किन रोज्यो डाइनोसरले
मोटरसाइकल
कहिले देखिन्छ
न्यूयोर्कको हडसन नदीमाथि
पिज्जा बोकेर दौडिरहेको
कहिले
सांघाईको “बन्ड” छेउ
ट्राफिक पुलिसको भेषमा अडेस लागिरहेको
कहिले
जोहानेसवर्गको सुनखानी छेउबाट
कामदारको भेषमा गुडिरहेको
नेपालको सडकैभरि
निम्न मध्यम वर्गीयको साधन मोटरसाइकलमा
निरन्तर
दौडिरहेछन् डाइनोसरहरू
दौडिदा ऊ मात्र दौडिदैन
दौडिन्छ
अजङ्गको ज्यान
एक्काइसौं शताब्दी उपभोगको दम्भ
समाजप्रतिको समर्पण
परिवारको पदचाप
र
कलिलो कसम
सबैभन्दा बढी
उस्ले पर्छ
सम्झौता गर्न
बाँच्नलाई
उस्का आँखामा
ओहोर दोहोर गर्छन्
अत्यधिक सपनाहरू
मार्क्सवादको रातो कलम
पूँजीवादको पहेँलो पापड
वातावरणविद्का हरिया नारा
वाङ्गरी माथाइका रुख रोप्ने अभियान
कतै छाडेर
ऊ
बदलिन चाहन्छ
डाइनोसरबाट मान्छेमा
तर
थाहै नपाई संसारभरिका
निम्न वर्गका मानिसहरू
लोप हुन्छन्
डाइनोसर जस्तो
जो
थाम्न नसक्ने गह्रुङ्गो समस्या बोकेर
दुब्लो मोटरसाइकलमा जीवनभर
दौडिरहेका हुन्छन् ।
२) १४ अग्निपरीक्षाअघि सीताको प्रतिवाद
– जीवित खड्का मगर
म हजुरकी धर्मपत्नी सीता !
यो दनदनी बलिरहेको आगोमा हाम्फाल्नैपर्छ भने,
यी सारा मानिसहरूले सुन्नेगरी केही त मैले बोल्नैपर्छ
म कठोर वनबासको दुःखबाट
उन्मुक्ति पाउन
बेपत्ता भएकी होइन
सुनको दरबारकी
महारानी बन्ने रहरले
पुष्पक विमानमा उडेकी होइन
लङ्का दरबार पुर्याइयो
अपहरण गरियो मलाई
यो सीताको मलिन अनुहार
देखेर शायद
त्यो दरबारछेउको समुद्र पनि
मेरै आँखाको डिलमा उक्लेर बगिरहन्थ्यो हरदिन
वरिपरि देखिएका भीमकाय पहाडहरू
अनन्त पीडा बोकेर मेरै छातीभित्र
उभिरहन्थ्यो हरदिन
हे, पतिदेव !
कहाँ फूल्न सक्छ र उमंग
आँखाको पानीमा ?
मेरो हजुरलाई
हरदिन पूजा गरिरहेकी हुन्थेँ मनमन्दिरमा
अशोक बाटिकाबाट कहिले बाहिर निस्कुँला
मेरो हजुरसित कहिले भेट होला
र घन्टौं प्रेमको अँगालोमा
बाँधिएर रोउँला…
यो मनलाई मात्र थाहा छ
कति हजारपल्ट जपना गरेँ हुँला ?
कस्सम हजुर !
तर हजुरको मनमा पाप रैछ
हजुरको पापी मन जस्तो
रावणको मनमा पाप थिएन
कु-दृष्टि र दुर्व्यवहार सहनुपरेन
भौतिक यातना भोग्नुपरेन
मेरो हजुरले यतिखेर
मेरो सतित्वमाथि शङ्का गर्नुभो ?
शंका यदि गर्नु नै थियो भने
रावणसित युद्ध गर्नुभन्दा
मेरो छातीमा
वाण हानिदिए
युद्ध गर्नै पर्थेन
जतिखेर लङ्का दरबारमा बन्धक थिएँ म
जतिखेर मेरो हजुरसितको बिछोडमा
जति पीडा भोगिरहेकी थिएँ
त्यो भन्दा बर्ता
अहिले म
मानसिक प्रताडनाले
आहत भएकी छु
हे पतिदेव !
रात यसै पनि अँध्यारो
दिन भयो सधैँ मेरो रातजस्तो
तर म चूपचाप बस्दिनँ
अत्याचार सहँदिनँ
कलियुगकी सीता हुँ म !
किन अपहरणमा परेँ म कहिले सोच्नु भो ?
अप्सराजस्ती उनकी बहिनी सुपर्णखालाई
कसले बलात्कार गर्यो
कहिले बुझ्नुभो ?
आफ्नै बहिनी बलात्कृत हुँदा
कुन दाजुको मन रुँदैन होला !
बदलाको भाव हुँदैन होला !
अब
तपाईँले सत्यकुरा भन्नैपर्छ
किन बोल्नुहुन्न तपाईं ?
मेरो प्रश्नको जबाफ खोइ !
यतिखेर तपाईं —
अयोध्या नगरको आदर्श राजा मानिनुहुन्छ
एक आदर्श पुरुषले आफ्नी धर्मपत्नीको
सतित्वमाथि शङ्का गर्छ
र, अग्निपरीक्षा जस्तो
क्रूर फैसलाको आदेश दिन्छ भने
अब म पनि आगो बोकेर
आगोमा होमिएँ …!
३) राजा धर्मदेवको पालामै भलाकुसारी गरिसकेका मान्छेहरू
– विनय कुमार भण्डारी
म शब्द हुँ,
लाखौँ वर्ष भइसक्दा पनि
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु,
तिम्री छोरीले
अहिले चिजबिजहरूलाई गरिरहेकी सबै स्पर्शहरू
लाखौँ वर्षअघि
मभित्र खसिरहेका जङ्गली पातहरू हुन्,
तिम्री छोरीले अहिले पाठ गरिरहेकी यी श्लोकहरू
लाखौँ वर्षअघि
मभित्र उडिरहेका चराहरू हुन्,
म शब्द हुँ,
तिम्री छोरीले अहिले गाइरहेकी यो गीत
हजार वर्षअघि नै
राजा मानदेवको दरबारभित्र मैले सुनिसकेका
ढुङ्गा, तामा र फलामका आवाजहरू हुन्,
म शब्द हुँ,
मैले तिम्री छोरीको देह पहिरेको छु,
तिम्री छोरीले अहिले कोरिरहेकी यो चित्र
हजार वर्षअघि नै
मसित दूध दुहिरहेका ग्वालाहरूका विचारहरू हुन्,
तिम्री छोरीले अहिले चाखिरहेकी सबै स्वादहरू
लाखौँ वर्षअघि नै
मैले टोकिसकेका जङ्गली किराहरू हुन्,
म शब्द हुँ,
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु,
तिम्री छोरीले अहिले लेखिरहेको यो कथा
हजारौँ वर्षअघि नै
मैले भेटिसकेका बाघ, भालु, चमेरो र हाब्रेहरू हुन्,
तिम्री छोरीले अहिले बाचिरहेकी यो कविता
हजार वर्षअघि नै
राजा यलम्बरसित रक्सीले मात्तिएर
मैले चपाएको जङ्गली लहरा हो,
म शब्द हुँ,
लाखौँ वर्ष भइसक्दा पनि
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु,
तिम्री छोरीको सपनामा आइरहने
यी बोल्ने कुर्सी, हाँस्ने चरा, कराउने बाल्टिनहरू
मैले राजा धर्मदेवको पालामै
भलाकुसारी गरिसकेका मान्छेहरू हुन्,
तिम्री छोरीको सपनामा आइरहने यी भूतप्रेतहरू
मैले राजा अंशुवर्माको शासनकालमा फुटाएका
माटाका भाँडाहरू हुन्,
म शब्द हुँ
मैले तिम्री छोरीको देह पहिरेको छु,
तिम्री छोरीको सपनामा आइरहने यो आत्मा
मैले हजार वर्ष पहिले नै छोइसकेको
राजा नरेन्द्रदेवको शरीर हो,
तिम्री छोरीको सपनामा आइरहने यो सुगन्धित घाम
हजारौँ वर्षअघि नै
मैले हेर्दाहेर्दै
माटो र पतिङ्गरले छोपिएका
मानिसहरूका हाडहरू हुन् ।
४) म जान्छु
दोस्ताज महेश
म जान्छु;
अब
यी सेप्टेम्बरका साँझहरू तिमीलाई भए
यी नोभेम्बरका रातहरू तिमीलाई भए
तिमीलाई भए
शरदमा उम्रने पात
उज्यालो आकाश
र
मैले सम्हालेर राखेका
जम्मै जम्मै
हजारी फूलहरू;
मैले लाएका प्रीत तिमीलाई भए
मैले बाँचेका दिन तिमीलाई भए
मैले हाँसेका
एक-एक छिन तिमीलाई भए
तिमीलाई भए
मैले जाडोमा कठ्याङ्ग्रिदै कठ्याङ्ग्रिदै
सुनिरहने जम्मै जम्मै न्यानाका गीतहरू;
मेरा त समय
चप्पलका फित्ता जसै चुटिगए
मेरा त समय
धर्तिमा निर्वासित पितृसत्ता
चालक दलका लोग्ने जसै छुटिगए
मेरा त समय
सिउँदो चिरिएकी बैकिनाका
हातमा रहेका चूरा जसै फुटिगए
मानौँ
मेरो कुनै किनारा थिएन
र
किनाराको कुनै समय हुँदैन
त्यसैले म जान्छु
तर
म जानुभन्दा अगाडि
तिमीलाई एउटा कुरा भनी जान्छु
तिमी बस्ने कोठाको एक कुनामा
बन्द मुधुस छ
त्यसभित्र
मैले मेरो मुटु झिकेर राखेको छु
एकदिन
मुटु नभएको मान्ठ आउनेछ
उसैलाई दिनु
हवस् त
म जान्छु
म जान्छु घरबाट जान्छु
यो कोलाहल बस्ती डरबाट जान्छु
म जान्छु चमकबाट जान्छु
यो अँध्यारो युग शहरबाट जान्छु
म जान्छु पहाड/चट्टानबाट जान्छु
यो बचेको हाड पत्थरबाट जान्छु
म जान्छु
यो जातै जातले अल्झिएको
सडकबाट जान्छु
म जान्छु
अनन्त तरङ्गमा फैलिएको
रगतबाट जान्छु
म जान्छु
समुद्र,नदी, तालबाट जान्छु
म जान्छु
प्रत्येक दिन अभावमा मरिरहनु पर्ने
यो जिन्दगी घडी कालबाट जान्छु
म जान्छु
एक मजदुर
जसले आफ्नो हात
स्वयं बैंकलाई दिएको थियो
उसबाट जान्छु
म जान्छु
महिना-महिना किस्ताको किचकिच
यो टाउको दुखाई
जेठ, असार, पुषबाट जान्छु
म जान्छु खै कता-कताबाट जान्छु
जान्छु जता-जता बाटो भेट्यो
उतै-उतैबाट जान्छु
म जान्छु
नफर्किने बाचा गर्दै आमाबाट जान्छु
म जान्छु
मैले बाँचिरहेको मौनता ऐना बाट जान्छु
म जान्छु
दमाह/ढोल/क्यासेट/सिन/टेपबाट जान्छु
म जान्छु
सर्को/पेग/सर्को/पेग/एक/एक बाट जान्छु
म जान्छु
मेरा प्रत्येक जितबाट जान्छु
मस्त आराम निदबाट जान्छु
यो दुखी भीडबाट जान्छु
म जान्छु
यो डरलाग्दो समय/उजाड रातबाट जान्छु
म जान्छु
अँध्यारो खाडी/अँध्यारो काठबाट जान्छु
म जान्छु
शून्यता/रिक्तता/तिम्रा यादबाट जान्छु
म जान्छु
काग/माछो/भ्यागुतो/छेपारो/खरायो/घोडाबाट जान्छु
जनावर जगत
पाँच क्लासबाट जान्छु
म जान्छु
एक कोषीय जीवबाट जान्छु
म जान्छु
दुई कोषीय बिरुवाबाट जान्छु
म जान्छु
यो माटोबाट जान्छु
म जान्छु
यो आगोबाट जान्छु
म जान्छु
विचारबाट जान्छु
यादबाट जान्छु
घाटबाट जान्छु
म जान्छु
भर्खरै नाभीबाट काटिएको
यस जिन्दगी
धागोबाट जान्छु
हवस् त
म जान्छु
फू……..!
५) म्याद सकिएको औषधी
प्रचण्ड भाष्कर
नपुगे हुन्थ्यो तर चाँडै नै पुग्ने
दुःखको खबर जस्तो रोग बोकेर
चाँडै पुग्नु पर्ने तर ढिलो मात्रै पुग्ने
खुसीको खबर जस्तो; औषधी खोज्दै
आफ्ना दीनमा भट्किरहेको विपत्ति हुँ म
म हुनुपर्ने बाहेक सबैथोक भएको छु
मुहानै नभएको ठाउँको धारा जस्तो भएको छु
प्यासीहरूलाई धोका बाहेक केही पिलाउन सक्दिनँ
बाटो छेउको जलेको मुढा जस्तो भएको छु
राती बटुवा तर्साउन बाहेक केही जान्दिनँ
डढेको फलाम जस्तो भएको छु
चोक्टा चोक्टा उछिट्टिएर कामै नलाग्ने भएछु
माटोमा पोखिएको दूध जस्तो विगत छ मेरो
बुढो पीपलको रुखमा उम्रेको
रबरको रुख जस्तो मेरो अस्तित्व
आफ्नो भागको भाग्य पनि नपाएको अभागी
विद्युतीय प्रवाह भएको स्विचबोर्डको
त्यो बेकामको स्विच जस्तो भएकोछु
मलाई थिचेर नखर्चिनु आफ्नो समय
जे जे नहुनु थियो त्यो हुनु पूर्व सोच्थेँ
यदि-
खुसीको सन्देश बोकेको
चिट्ठी हुँदो हुँ त
ढिलै पुगे पनि ठेगानामा खुसी त दिन्थे
साहुको खराबै ऋण हुँदो हुँ त
कतै जोडिएर बसिरहन्थेँ जुगानुजुग
कसैको दुश्मनै हुँदो हुँ त
सम्झनामा रहिरहने थिएँ ईर्ष्याअवधि भर
प्रेमी हुँदो हुँ त
बिर्सिदिन्थेँ उपरोक्त विषयहरू
अफसोस
/
अहिले
तिमीले मलाई प्रेमी बनाएर गल्ती गर्यौ
तिमीले आफ्नो औषधी सम्झेर गल्ती गर्यौ
समयमै तिमीसम्म नपुगेको
म त्यो औषधी हुँ
जसको म्याद अब सकिसकेको छ
केही गरी तिम्रो हातमा पुगे भने पनि
नखोल्नु मलाई, नचाख्नु मलाई
म्याद सकिएको औषधीले
फाइदा होइन निकै हानि गर्छ।
६) पति, पुत्र र ससुरा बा
राधिका कल्पित
जब सुदूर पूर्वबाट उदाउँदै गरेको ज्योतिर्मय सूर्य अनि
पश्चिम क्षितिजमा
गलेर बोटबाट झर्दै गरेको हलुवाबेदजस्तो घाम देख्छु
पुरुषका तीन प्रतिरूप एकैपटक मेरा आँखामा छाउँछन्
उदाउँदो शिशु सूर्यमा देख्छु
रगतमा लत्पतिएको मेरो नवजात छोराको
रक्ताम्य अनुहार
जो भर्खरै मेरो देहबाट छुट्टिएर
मेरो काखमा खसेको छ
ऊ मेरो काखमा खस्दै गर्दा यस्तो लाग्छ
हिजो अँध्यारोदेखि डराएर मेरो गुन्युभित्र छिरेको
मेरो पति रूप
पुत्रको स्वरुप लिएर
छिरेको छ मेरो घरभित्र
र उज्यालिदिएको छ मेरो गृहस्थ
मध्याह्नको
प्रचण्ड र ओजस्वी घाममा देख्छु पतिपरमेश्वेको स्वरुप जो
आफूलाई देवत्वकरण गर्दै
आफू आएकै बाटोतिर चोर औंला ठडाएर प्रश्न गर्छ
को हो यो मेरो बाटोमा मैलाई हिँड्न सिकाउने ?
ऐनामा प्रतिविम्बित आफ्नै प्रतिबिम्ब तिर फर्किएर प्रश्न गर्छ
को हो यो मसँग बराबरी हुन खोज्ने ?
जब
सन्ध्यापूर्व समुद्रमा डुब्दै गरेको घाम देख्छु
मृत्यु शय्यामा साससँग जुधिरहेका मेरा पितातुल्य ससुरा बा देख्छु
जसको प्रतापी पुंसत्व
उनका दाँतसँगै फुक्लेर गइसकेका छन्
उनको वीर्यको वीरता
छोराहरुले अंशवन्डा लगाइसकेका छन्
म उनकी बुहारीबाट फेरि उनकी आमा भएकी छु
जसलाई निदाउने बेलासम्म छेउमा मै चाहिन्छ
ब्यूँझिएर उठ्दा आँखाअघि मै चाहिन्छ
म उनलाई
खुवाइदिन्छु
नुहाइदिन्छु
दिसापिसाब गराइदिन्छु
अचम्म त यो लाग्छ
मेरा ससुराले
होसमा हुँदा, `बुहारी बुहारी´ भनेर बोलाउँछन्
अर्ध-बेहोसीमा दिवंगत सासूको नामले पुकार्छन्
तर बेहोसीमा बर्बराउँदा
`आमा आमा´ भन्छन्
यसबखत म
समाजले `पुरुष´ नबनाइसकेको मेरो नाबालक छोरो
भीमसेनजस्ता मेरा पति
र
मेरा शिथिल ससुराका अनुहारमा पालैपालो हेर्छु र
मुस्कुराउँछु ।
७) मौनता
दीपा राई पुन
समयका मौन नयनहरू
टोलाएर हेरिरहन्छन्
ती आँखा भित्रको समुद्री छालहरू
उर्लिएर आफैँ भित्रको आफूलाई
कयौँ पटक डुबाएको देख्छु
किनारमा उभिएर हात दिन सक्दिनँ
मौनता कतै बिचलित नहोस्
दृढतामा कतै बाधा नहोस्
अन्तरमनको अन्तरध्यान हुन सक्छ
आफैँभित्र बुद्धत्वको खोज हुन सक्छ
यसरी मौन त बस्नै सक्दैनौँ
आफ्नै श्वासको गला घोट्नै सक्दैनौँ
मलाई थाह छ
मौन सडकहरूको
आफ्नो गन्तव्य हुँदैन
फेरि पनि हिँडिरहने यात्रुहरूलाई
चुपचाप गन्तव्यमा पुर्याइदिन्छ
एक्लो जून आफ्नै सीमा घेराबाट
अँध्यारोमा पनि उज्यालो छरिरहन्छ
मौन पहाड़ उभिएर नै
जीवन बस्ती बगाएर लान सक्दैन
आँधी हुरी जस्तो भेललाई छेकेर
बिहानै घामसँग मुस्कान पठाउँछ
केटाकेटीहरूको ओठमा इन्द्रेणी छर्न
वृद्धवृद्धाको भरोसा भर्न
मौनतापछि नै बारूद पडकन्छ
मौनतापछि नै क्रान्ति चमकन्छ
मौनताको शक्ति थाह भएर
शायद तिमी यतिखेर मौन छौ
वसन्त यौवन र वैंशले
आँखामा पट्टी बाँधेर
सड़क पेटीबाट बगैंचा हुँदै
जंगलसम्म मुस्कान छरिरहेछ
जीवनको प्रश्न जीवनलाई
अनुभूतिको कित्ता भोगाइको खण्ड
मौनताले मात्र भन्न सक्छ
झरेर झर्ना भीरबाट
कलकल सतहमा बगर भेट्टाउन
एकलासमा बूढो रूख उभिरहन्छ
शरदको रंगीन वसन्तको हरियाली
जीवनलाई भनेर फर्केर आउँछ
मौनताको भरोसा हो
जून तारा घाम
जीवनको टुकी बनेर
हरेक दिन उदाउँछ
कर्तव्य परिस्थिति बाध्यताहरू
सीमा नाध्दै चराजस्तो गीत गाइरहन्छ
मौन सुस्केराहरू आफैँसँग प्रतिध्वनि हुन्छ
साँचो इतिहास मौन हुन्छ
मौनतालाई शल्यक्रिया गरेर
नयाँ रूप हेर्न मिल्छ मिल्दैन
आगोसँग खेल्ने रहर भएर
इतिहास अक्षरमा कोरिदा
मौनताको आफ्नै यात्रा हुन्छ
युगले कोल्टे फेरिदा पनि
मौनताको रहस्य
कसलाई थाह हुन्छ र !
हामी बाँचेको मौन समयमा
ढुकढुकीको आवाज सुनेनौ भने
मौन बतास जस्तो बेचैन नहुनु
आफैँ भित्रको प्रेमको म्याग्मा पगालेर
अटल हिमाल जस्तो मौन मुस्कुराई रहनु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।