बिहानै कलेजको गेटबाहिर
सधैँझैँ
मलाई कुरिरहेका हुने छैनन् साथीहरू ।

मैले टाई नलाएर आएको भन्दै
पालेदाइ
मलाई रोक्ने छैनन् अब गेटमा ।

होमवर्क नगरेको कसुरमा
गुरूहरूले
कसलाई उभ्याउलान् अब कक्षाकोठामा ?

प्रिय सहपाठी !
हरेक दिन
सबैभन्दा पहिले आएर पनि
म किन बस्थेँ अन्तिम बेन्चमा ?
शायद यो सोध्न चाहदी हौ तिमी ।

म पनि त सोध्न चाहन्थेँ
तिमीले सधैँ लुकेर हेरिरहनु
र मैले हेर्नसाथ अन्तै हेरेजस्तो गर्नुको रहस्य ।

हरेक परीक्षाहरूमा
मेरो छेउमै बस्ने साथीले
कहीँ भेटिँदा मलाई चिन्लिन् कि नाइँ?

मसँग रिसाएकाहरू
सम्झनामै पनि गाली गर्न छोड्ने छैनन् ।

पार्कहरूमा, चोकहरूमा घुम्न जाँदा
कतै गुरूहरूले देख्लान् कि भन्ने डर रहनेछैन अब
संयोगले भेटिए भने उनीहरू
कतै देखेजस्तो/बोलेजस्तो मात्र लाग्नेछ ।

कसैले सोध्यो भने परिचय
म कलेजको नाम लिँदै
बिर्सेर भनिहाल्नेछु
“अहिले फलानो कलेजमा पढ्दैछु ।”