यो छाया कस्को हो
यो कस्को परकाया प्रवेश हो

जब/ जब
मेरो देशले
एक/ एक कला वृद्धि गरी
आफ्नो अनुहारमा चमक ल्याउँछ
तब/ तब
राहुले ग्रस्न थाल्छ
चमको विरोधी हो राहु
उज्यालोको विरोधी हो राहु
पूर्णताको विरोधी हो राहु
०००
राहु छाया हो
यो कस्को छाया हो
यो कस्को परकाया प्रवेश हो
र यो राहु
छाया भएर बसेको छ

०००

देशको अनुहार
जहिल्यै पनि मलिन
दाहसंस्कार गर्न हिँडेका
मलामीको अनुहारजस्तो
त्यस्तो अनुहार बोकेर
देश सधैँ शोकमा
देश सधैँ भोकमा

०००

हामीमा
हाम्रो शरीरमा हुँदै
यो राहु
स्कूल, कलेज र हस्पिटलहरूमा किन बस्छ
यो राहु
गाउँ/ शहर हुँदै राजमार्ग
र राजमार्ग हुँदै
दसगजामा किन बस्छ
यो राहु
संसद्/ संसद् हुँदै
संसदीय भवनमा
संसदीय भवन हुँदै
सरकारसम्म पुगेको छ

०००

देशमा
देशको माटोमा
देशले ओगटेको अन्तरीक्षमा
र त्यो
अन्तरीक्ष भित्रको हावा पानीमा समेत
यो राहु
किन विष भएर आउँछ

हामी सोझा छौँ
हामी सरल छौँ
हामी कंचन छौँ
र हामी निश्चल छौ
तै भएर ग्रस्छ

०००

टेढो चन्द्रमालाई राहुले ग्रसेको देख्नु भएको छ
बाङ्गो चन्द्रमालाई राहुले ग्रसेको देख्नु भएको छ
टेढो चन्द्रमासँग राहु पनि डराउँछ
बाङ्गो चन्द्रमासँग राहु पनि डराउँछ

०००

अब हामी टेढो हुनुपर्छ
अब हामी बाङ्गो हुनुपर्छ

राहु हामीसँग पनि डराउँछ !