बालककालमै छुट्याएर
कतै टाढा एक्लै राखी दिनुस्
या हुर्कन दिनुस् बगालमै
कुनै गुनासो गर्दैन
यो अविश्रान्त सृष्टि जोगाउन
कर्तब्यबाट कहिल्यै टाढा भाग्दैन

बरू खोला खोल्सी कहिले रौद्र बन्छ
सुनामीहरू डाकेर उर्लिन्छ सागर
आकाशै चिरेर गर्जन्छ बादल
बतास बनिदिन्छ बिध्वंसकारी
झरी बहुलाएर भत्काउछ
पहाडहरू
बगाउछ गाउँ बस्ति
गोठ ग्वालीहरु
तर
बृक्ष लिएर आउदैन कुनै विध्वंस
मच्चाउदैन कुनै आतङ्क
बरु खसालीरहन्छ धर्तीमा
जिवनका अनमोल हरफहरु
सुसेली राख्छ पवनमा
सुसित्तल कोरषहरु
हरेक जीवनसँगको जवाफदेहिताले
घनीभूत राख्छ प्रकृति
र निरन्तर हिडाउछ
सृष्टिको अविराम यात्रा

जब कुनै प्राणीले जमिन टेक्छ
पहिलो स्वासमै
पिलाउछ प्राणको अमृत
दिलाउछ जिवितताको आभास
एकान्त होस् या भिड़मा
उ सँधै रमाएरै बसीदिन्छ
हुरीको कठोर बेगहरू सहेर पनि
निस्वार्थ बाँचिदिन्छ
जस्तै खडेरीमा पनि हरियो हाँसीदिन्छ

अँगालोमा जोगाएर राखीबस्छ माटोलाई
चौतारीमा उभिएर पर्खिबस्छ बाटोलाई
घामको उष्ण प्रहरहरू पनि
सहजै सहिदिन्छ
हिऊको ठिहीमा पनि
उभिदिन्छ निर्बस्त्र
शरिरको हर अंगमा अमृत बोकेर
आफु बिष पिइदिन्छ
झरीको अविरल कुटाईहरु पनि
चुपचाप थापिदिन्छ
चट्टानको अवरोध पर्वाह नगरी
धरालाई आवाद राख्न
उम्रिदिन्छ खोँच र भिरमा पनि
कल्पना गर्नुस त
बृक्ष बिनाको धर्ती कस्तो हुन्छ ?

बरु शोभायमान हुन्छ सँधै बृक्ष
पहाडको पाउ देखी शिर सम्म
तराईको फाँट देखी हिमालको फेद सम्म
नदिलाई आफ्नै धारमा बग्न सुझाउछ
नबदलोस् भन्छ हिमालहरूले आसन
बरू जमाइरहोस् भन्छ पहराले शासन
मरूभूमीको फैलावट छेक्न
ढाल बनेर उभिन्छ
पहिरोलाई रोक्न
ग्याङ्ग्रिनहरु छिचोल्दै
धर्ती मुनि मुनि धसिन्छ

जो सदियौं देखी अरुकै लागि
निस्वार्थ बाँचिरहेको छ
उभिएरै आदिम युगदेखी
यो धर्तीमा जीवन छरीरहेकोछ
बृक्ष जोगाएर राखे मात्र
चलिरहला सुदुर युगान्त सम्म
जीव र जीवात्माहरुको यात्रा

यदी बन बृक्ष रोयो भने
उस्को आँसुले तिम्रो घर डुबाउछ
बगाउछ तिम्रो बस्ती , बगाउछ गाँउ
तिम्रो आँगन बनाउछ बगर
तिम्रो जीवन बनाउछ खण्डहर

मानिसको जस्तै
बृक्षको पनि हृदय हुन्छ
हृदयमा प्रेम हुन्छ
पिडा हुन्छ
संवेदना हुन्छ
प्रेमको जल सिंचन गर
हरियालीको बहार खन्याउछ
तिरस्कारको काँटी सल्काउ
विध्वंसले ध्वस्त बनाइदिन्छ तिम्रो संसार
हे मान्छे !
यदि तिमीमा यही प्रवृत्ति कायम रहीरहे
केवल ईतिहासमा सिमित हुनेछ
तिम्रो अस्तित्व, तिम्रो सभ्यता
जस्लाई पढ्ने हुनेछैन
कुनै पाठक यो ब्रम्हाण्डमा
किनकी
बृक्ष विनासको शुरुवातनै
तिम्रो समाप्तिको प्रारम्भ हो ।

इटहरी -६ सुनसरी