म मौन पहाड

■ पवन आलोक

पवन आलोक

हजारौं हजार वर्षदेखि
सृष्टिको प्रारम्भदेखि
उभिएको छु
म मौन पहाड
इतिहासका प्रत्येक कालखण्डहरूको
साक्षी बनेर
भूकम्पहरूले, चट्याङहरूले
थिल्थिलो बनेका छन्
मेरा अङ्गहरू
सहेकै छु
सहेकै छु, प्रचण्ड गर्मी पनि
सहेकै छु, मुसलधारे वर्षा पनि
पारि क्षितिजहरूसम्म फैलिँदै
अटल, निश्चल र विवश
गन्तव्यहीन म मौन पहाड
निरन्तरको ज्यादती र अतिक्रमण
सहनु पनि कति सहनु
ताराहरूसँग मितेरी लाउँदै
जूनको शीतलतामा रमाउँदै
हेरिरहेछु चारैतिर
उस्तै–उस्तै छ परिवेश
न कुनै परिवर्तन
न कुनै नयाँ आयाम
केही पनि त फरक भएको छैन
तनावमा छन् प्राणीहरू
प्रत्येक क्षण मर्दै बाँच्नुपर्ने यो विवशता
हेर्न बाध्य छु चुपचाप
मौन समुद्र
म मौन पहाड ।