आदिम समयदेखि
आस्थाको आकाश मुस्कुराइरहेको चोमोलुङ्मा
मन परेन दरबारहरूलाई
मन परेनन्
चोमोलुङ्माभन्दा निश्चल
डाँफे/मुनाल नाचिरहेका मानिसहरू !

र त
मेटाएर इतिहासको गर्भबाट
एउटा अर्को अध्याय
लेखिदिए सरदारहरूले
रगत लत्पतिएको तरबारले
–‘हाम्रो’ सगरमाथा !

त्यसपछि
अलिकति आस्था च्यातियो

खडा गरियो एउटा बेस क्याम्प
जहाँ मुनालहरू भरिया भए

अलिकति जीवन निचोरियो

खडा गरियो पाँचतारे होटल
जहाँ डाँफेहरू सुसारे भए

धुँजाधुँजा पारेर निश्चलता
लेखियो ‘सगरमाथा’को उचाइ गाथा
जसको भारले थिचिएर
भयो चोमोलुङ्मा अनुहारविहीन !

लगाएर खप्परहरूको श्रीपेच
टहल्दा टहल्दै आइपुग्यो
एउटा साम्राज्य
आइपुगे एउटा ‘जेन्टलमेन’
र लेखिदिए आफ्नो नाम टाकुरीमा
त्यसपछि चोमोलुङ्माको अस्मितामा
निरन्तर जाइलग्यो अर्को तरबार
–एभरेस्ट

वर्षौँ भयो
कता कता हराएको छ चोमोलुङ्मा
बस् बाँकी छ
सीमाहरूले जेलिएर एउटा सगरमाथा
संज्ञाहरूले चिथोरिएर अर्को एभरेस्ट
जसको आँखै सामुन्ने
गरिरहेछ दरबार
तेन्जिङहरूको सौदाबाजी !