अनन्त जल सागरमा
ज्वारभाटासँग लाप्पा खेल्दाखेल्दै
छालको बेगसँगै बगरमा हुत्तिन्छ
एउटा सुन्दर प्रौढ माछो
आफ्नो परिवेशमा ज्वारभाटासँग खेल्न,
समुद्रको अनन्त फैलावटसँग सयर गर्न,
शत्रु र मित्र जीवहरू पहिचान गर्न,
सम्बन्धको सीमारेखा कोर्न,
अनुकूलताहरूसँग निश्चिन्त रमाउन
एवम् प्रतिकूलताहरूसँग जुध्ने जुक्ति पहिल्याउन
अभ्यस्त हुन्छ
किनकि आफ्नो संसारको राम्रै खेलाडी हो ऊ
तर नयाँ संसारमा एक्लो एलियन भएको छ आज
छाल फर्किन्छ
मानौँ, समुद्रको चुम्बकीय शक्तिको लगाम छ यसमाथि
छालसँगै आएका कति छुट्छन्
कति सँगसँगै फर्किन्छन्
घरिघरि आउनु, जानु
बगरलाई जिस्काउँदै चुम्नु उसको नियमितता हो
तर माछो बगरमै छुट्नु शायद आकस्मिकता
टाढा त कहाँ छ र पानीको रेखाबाट ऊ छुटेको बिन्दु
तर उफ्रेर पानी भेट्ने आत्मविश्वास छैन उसमा
बालुवामा हिड्ने र दौडिने कला
र पानीबेगर बाँच्ने सामर्थ्य र अनुकुलता
पाएन प्रकृतिबाट उसले
आत्तिन्छ, छट्पटिन्छ, उफ्रिन्छ, चिच्याउॅछ
योभन्दा बढी के नै गर्न सक्थ्यो र ऊ ?
खिचिदैन कोही कसैको ध्यान उसको आर्तनादले
संयोग नै होला जालहारीको नजरसम्म परेन उसमाथि
नत्र भाग्योदय भएको ठान्दो हो जालहारी आज
स्यान्डबाथमा मस्त पर्यटकको दृष्टि नपरेको पनि राम्रै भयो
नत्र, थप मनोरञ्जनको वस्तु बन्दो हो ऊ
सेल्फी, फोटो र भिडियोमा कैद हुँदो हो उसको दशा
जस्तोसुकै घटना या दुर्घटना होस्
उद्धारको शिघ्रताभन्दा
सेल्फि, फोटो र भिडियोकै फेसन
बढि चलेको छ आजकल
के भन्नु र खै !
संवेदना, प्रेम र करुणाभावमाथि
प्रविधिले अधिपत्य जमाएको हो कि ?
पानीबेगरको अपरिचित संसारमा
क्षणभर पनि बाँच्न नसक्ने बिचरा जीव !
बगरमा असहाय भई बितरा पर्दा
उसको पीडा बुझ्ने
उसको पुकार सुन्ने
गुहार दिने
र उद्धार गर्ने करुणाकर
साक्षात्कार भइदिए कति जाती हुँदो हो
सास फेर्नै नसकेर ऊ मरणासन्न हुन्छ
पानीबाट अक्सिजन छान्ने अङ्ग
कामयाब हुँदैन पानी बाहिर
जसरी बिजुली-गाडीमा डिजलले गाडी चल्दैन
छाल फर्केर नजिकै त आउँछ एकछिनमा
तर उसलाई स्पर्श गर्न सक्दैन
छालको गति नि एकनास कहाँ हुन्छ र ?
उफ्रेर छाल भेट्ने उसको सामर्थ्य टुटिसकेको हुन्छ
जब फेरि छाल अलि बेगले बढ्छ बगरतिर
र फर्किँदा लिएर जान्छ तानेर सँगसँगै
बिडम्बना ! उसले सास फेर्न छोडिसकेको हुन्छ
उद्धार त भयो उसको ढिलै भए पनि
आफ्नो संसारमा त फर्क्यो ऊ
तर उसलाई थाहा हुँदैन- ऊ फर्क्यो या फर्केन
जस्तो कि विपद्-उद्धारमा दृष्य देखिन्छ कतै
अब उसलाई के नै फरक पर्छ र ?
चाहे ऊ बगरमै लडिरहोस्
या समुद्रमा तैरिरहोस्
चाहे कसैले उसको मृत देह लुछिरहोस्
या कोही मनोविनोदमा खेलिरहोस्
चाहे कहीँ कतै सडिरहोस्
या कुनै समुद्री जीवको आहारा बनोस्
आफू खाइखेलेको संसारमा
जतिसुकै अब्बल खेलाडी भए पनि
अपरिचत फरक परिवेशमा
प्रतिकूलताहरूको घेराबन्दीमा
अनुकूलताको सिमाभित्र
चेतन मनहरूको स्वार्थघेरामा
विवेक र संवेदनामाथि प्रविधिले अधिपत्य जमाइरहेको बखत
फरक परिवेश अनुकूल
फरक सोच, रणनीति र क्षमताको अभावमा
समय घर्किसकेपछि चालिएका
परम्परागत पाइलाहरू पछ्याएर
जीवनको ‘मनचिन्ते झोली’ भर्न संभव छ र ?