राज्य र समाजले थामेको आधारशीला माथि
पद, प्राप्ति र प्रतिष्ठाको चक्रव्यूहमा
प्रतिशोध र प्रतिरोधको दुस्चक्रमा
शैशवकालका मिठा कल्पनाहरू
ससाना सपनाले आनन्दित तुल्याउने क्षणहरू
र, हिजोका आनन्दहरू रित्तिँदा रित्तिँदा
खोक्रो वर्तमान ङिच्च गरेर हाँस्छ

म मन दुखेर थाकेको छु
अत्याचारविरुद्ध प्रश्न गर्न नसक्ने भएको छु
किनकि मानवताका मलामीहरू यत्र तत्र देख्छु
मभित्र पनि यस्तै एउटा मलामी दृष्टिगोचर हुन्छ
के तिमी पनि एउटा मलामी हौ ?
अरूलाई मैले गर्ने प्रश्न आज मेरो सामुन्ने खडा छ
मसँग उत्तर माग्दै मेरै अगाडि हडतालमा छ

क्रूर राज्यका पञ्जाहरू जुनसुकै बाटोमा छन्
सिवाय गुलामी दासता र मौनता
के मान्छेको सत्ता यस्तै हुन्छ त ?
म क्रान्तिको बीचबाटो छोडेर
मौनताको गोरेटोमा हिँडेछु क्यारे
म भित्रको मान्छे बोल्छ
हे मित्र ! मौनता अप्राकृतिक हुन्छ
चुपचाप बसेर तिम्रो ऊर्जा मर्दै मर्दैन
मौनताले तिम्रो शक्ति क्षीण हुँदै हुँदैन

म आत्म समीक्षाको पर्खाल छिचोल्दै
स्वाभिमानको सँघार छेउ पुग्दछु
राज्यका क्रूर पञ्जाहरू निर्निमेष हेर्छु
अनि मेरो मौनताको जँघार तरेर
अवचेतन मस्तिष्कमा शिकार खेल्ने ऊर्जा
ट्याक्क थुनेर बुद्धत्वको फर्मा खोज्दैछु
जुन फर्माले निराकार बोधिसत्वको मृगतृष्णालाई
दूरआकाशमा आकार दिनेछ ।