यो हाम्रो कमरेडको नयाँ घर ?
भन्दै देखायो रमेशले
गाडीको झ्यालबाट हेरेँ,
निकै ठूलो र आकर्षक रहेछ
लाग्यो रिसोर्ट जस्तै
गेट भरि प्रहरीहरू छन्
. . . . .
हिजो जस्तो लाग्छ
कालो पाइन्ट र सेतो कमिज
र खुट्टामा गोलस्टारको जुत्ता
लगाई, कालो झोला भिरेर
सुकेनास लाएको जस्तो
मरनच्यासे र ख्याउटे मानिस
साँझमा ढोका ढक्ढक्याएका थिए
. . . .
खाना पकाई दिनुपर्यो हजुर
भोकले मर्न लागियो लौ न ?
भन्दै दलिनमा पसारो परेका थिए
अरू साथीहरू वल्लो, पल्लो घरमा
खाना खानलाई जानु भाको छ
बरू चुलो मात्र देखाइदिनुस्
हामी आफैँ पकाउँला बरु
गुन्द्रुक उमाले पनि हुन्छ
यति बेला तरकारी काहाँ खोज्नु र?
. . . .
साँझका पाहुना न परे
कसो नखुवाउनु र ?
मिठो मसिनु जे थियो घरमा
पकाएर खुवाएको
. . . .
मकैको च्याँख्ला र कर्कलोको तिहुनलाई
उसको पेटले स्वागत गरिसकेपछि
भित्री कोठामा गुन्द्रीमा बसी
दियोको मधुर उज्यालोमा
आफ्नो झोलाबाट
मार्क्सवादको पुस्तक झिकेर
दर्शनका पाठ पढाएका थिए
रात भरी वर्ग संघर्षका
कथा रटाएका थिए
बिहानको मिमिरेसँगै
जुत्ताको तुना कस्दै
बिदाई हुने बेलामा
तिमी पनि सर्वहारामुक्तिको
महाअभियानमा आउनु पर्छ भने
. . . .
हो म गरीव र बेरोजगार
थिचिदा थिचिदा ऋृण र व्यवहारले
माथि उठ्नै नसकेको
तिम्रा समानताका सिद्धान्तहरूले
पग्लिएको थिए म
र बस्तीभरि विचारहरू पोख्दै
मुक्तिको युध्दमा होमिएको थिएँ
कमरेड तिमीसँग म पनि
बस्ती–बस्तीमा पुगेर
संघर्षको विगुल फुकेको थिएँ
सभ्य समाज निर्माण गर्न
तिमीले थालेको विद्रोह
समग्रतामा वर्ग युद्धको थालनी
आगो बनेर फैलिएको थियो
. . . .
केही पाउन केही गुमाउनु पर्छ
द्वन्द्वात्मक भौतिकवादको सर्वव्यापी नियम
आत्मसात गरेर हामीहरू
शिरमा मृत्युको कफन बाँधेर
वर्ग वैरीका विरुद्ध खनिएका थियौँ
तिमीले भन्थ्यौ अब यिनीविरुद्ध
सुरुङ युद्ध लड्नुपर्छ
म पनि त सुरिएकै थिएँ
ज्यान फालेर भिड्नुप-यो जस्तो लाग्यो,
कम्तिमा मेरा सन्तति
स्वतन्त्र देशका मुक्त नागरिकको
जीवन जिउन त पाउनेछन् भन्ने आशमा
एक पटक सम्झनोस् त कमरेड
अतितका दिनहरू
संघर्ष क्रान्ति र युद्धका कठिन छिनहरू
कति कठिन कष्टपूर्ण र कहालीलाग्दा !
. . . .
तर कमरेड,
तिमी त पस्यौ सिंहदरबारभित्र
सम्झौता र सहमतिको नाममा
खै ! के पाए ती भोका नाङ्गाहरूले ?
तिमीलाई थाहा छ
समतामूलक समाज निर्माणको लागि
प्राणको आहुति दिने महान् शहीदहरू
खै ! तिनको रगतको मूल्य ?
तिनै लाशहरूको भ-याङ बनाएर
सत्तामा उक्लिएका
तिम्रो कति मीठो उपलब्धि
. . . .
कमरेड,
तिमी त आलिशान महलमा
विराजमान भएछौ
प्राडो पजेरोमा शयर गर्ने भएछौ
साँच्चै साँच्चै कमरेड !
वर्ग विहीन समाजको निर्माण भएकै हो ?
तिमीले सत्ताको लागि
राजनीति खेल्दा
कुकुर र बिरालाझैँ
आफ्नै दलसँग जेलिरहँदा
नाचिरहेका छौ ताण्डव नाचहरू
पद र कुर्सीका लागि ।
. . . .
भुलेर ती समाजवादका सपना
शहीदका रगत र बलिदानहरू
मार्क्स, माओ र लेलिनका सिद्धान्त
पुप्पलाल, मदन र मनमोहनका विचार
यी सबैलाई टोकरी हालेर फेरि
दर्शन र सिद्धान्तभन्दा पनि
पद, शक्ति अनि पैसा ठूलो भो
. . . .
गरीवको झुपडीमा दियो जलाउन
गणतन्त्रलाई बलियो बनाउन
कठै ! हाम्रो नीति भयो बदनाम
खै मेरो भाग भन्दै आफू–आफैँ लड्दै
दुनियाँलाई रमिता देखाएर सधैँ
गुटबन्दी र भागबन्डाको खेल खेल्दा
मैदानमा आफैँ पछारिँदा
चेतना बुद्धि र विवेक आएन
. . . . .
हामीलाई थाह छ
हाम्रो सपना न हिजो खराब थियो
न आज नचाँहिदो छ
हामी सम्मानका साथ
हरेक नागरिक मिलेर बस्न पाउने
राज्यले सामाजिक सुरक्षासहितको
न्यायको प्रत्याभूति देओस्
हाम्रो सार्वभौमिकता अझ मजबुत बनोस्
संसारभरका न्यायका चाहानामा
हाम्रो ऐक्यबद्धता रहोस्
. . .
गाँस बास कपास, स्वास्थ्य शिक्षा
सुरक्षा र रोजगारको हाम्रो सपना
आज पनि पवित्र छ
यो सपनामा साथ दिने
हामीसँग तिमी पो छैनौ कमरेड?

चितवन