काठमाडौँ आफैँ त बिक्रीमा छैन
तर
शदियौँदेखि बेच्दै आइरहेको छ यसले
हाम्रा सपना
यो खाल्डोलाई काठमाडौँ बनाउन
धेरथोर पसिना मेरो पनि छ
धेरथोर लगानी मेरो पनि छ
पसिना र लगानी भएको काठमाडौँमा
हकदावी नहुने कुरै भएन
यससँग अलिकति आक्रोश छ
अलिकति कुण्ठा छ,
केही मात्रामा पूर्वाग्रह पनि
हाम्रा सपना धुलिसात पारेर
हाम्रा जिजीविषालाई निस्तेज पारेर
हाम्रा चेतनाविरुद्ध स्टन्ट छेड्ने
हामीलाई जिस्काउँदा मज्जा मान्ने
हाम्रै टाउकामा गिर खेल्ने
यो कठामाडौँ कसको हो?
तिम्रो काठमाडौँमा
तिम्रो सडकमा
तिम्रा महलमा
किन वर्जित छ झुपडी ?
किन निषेधमा पर्छ असहाय ?
चाउरिएको अनुहार
पट्पटी फुटेको पैताला लिएर
गुजारा चलाइरहेको
एउटा मजदूर
एउटा सडक मान्छे किन अटिरेहेको छैन
तिम्रो काठमाडौँमा ?
सडकमा बस्नेको गाँस खोसेर
डिस्कोमा अश्लीलताको कर तिररहेछ
कामुकताको बहस छेडिरहेछ
मौलिकताका नाममा जारी
आफ्नै विज्ञप्तिहरूको विघटन गरिरहेछ
कुनै समय जादूगर प्रसिद्ध थिए
कुनै समय चाटुकार चर्चित थिए
कुनै समय सर्कसका दुरुपयोगहरू पनि ‘लोकप्रिय’ भनिन्थे
प्रसिद्धि, चर्चा र लोकरिझ्याइँका नाममा
बहुलठ्ठी बन्दै जाँदा
देशभन्दा माथि कल्पनाको मर्त्यलोकबाट
संवेगको घडा पोखिन्छ
अनि भन्छ: ‘काठमाडौँ बिक्रीमा छैन !!!’
जहाँबाट बेचिएका छन् असंख्य नागरिक
जहाँबाट बेचिएका छन् स्रोत र साधन
जहाँबाट बेचिएका छन् श्लीलता, शालिनता
तोडिएका छन् मानवताका सीमाहरू
के त्यो बिक्रीका लागि लायक छ?
हामी बुझ्छौँ लहडका महत्त्वाकांक्षाहरू
हामी हेर्छौ दशकौँका उत्पीडनहरू
हामी छुट्टाउँछौँ दूरदर्शिता र दुराग्रहबीचको फरक
विद्रोहको विहंगम आकाश खुम्चिँदैन
बरु फाटेझैँ लाग्न सक्छ
कहिलेकाही धर्ती –
शासकहरूको कुर्कुच्चाले
कुल्चिरहँदा… ।
पर्वत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१९ मंसिर २०८२, शुक्रबार 




