तिमी नहुँदा समय नै रोकिएकोजस्तो लाग्न थालेको धेरैपछि एउटा कविता लेख्न बसेँ । शुरूमा सबैभन्दा माथि मिति लेख्न खोजेँ । चार पटक गलत लेखेर केरेपछि ढोकाबाहिर घरभेटीको आवाज सुनेँ र सम्झिएँ, आजैमात्र कोठाभाडा तिरेको बेहोरा । त्यसपछि  सम्झिएँ हालैसालैको मिति । आजको मिति ।

तिमी नहुँदा आजभोलि जहिल्यै भान्सामा ब्रेड र जाम, जाम र ब्रेड ! चिया र कुकिज, कुकिज र चिया ! अन्डा र चाउचाउ, चाउचाउ र अन्डा मात्रै बन्न थालेको छ ।

तिमी नहुँदा टुसा उम्रिएर बसेका आलु-लसुन र प्याजहरू/ सुगन्ध उडिसकेका मरमसलाहरू हालेर हप्तौँहप्तामा बल्लतल्ल खाना बनाउन बस्छु । एकैपटकमा चुल्हो बल्नै मान्दैन । प्रयोगविहीन भएर आगो बिर्सिसकेको छ चुल्होले । प्रेसर कुकरमै गिलास हालेर बनाउने छोक्रा बसेको दाल, भात र भुटुवा आलुको त स्वाद अझैसम्म छ ।

तर तिमी नहुँदा  तिमीलाई मनपर्छ भनेर पकाउने माछाको झोल र गोलभेडा पोलेर धनियाँ हालेर किचेको अचार नखाएको धेरै भएछ ।

तिमी नहुँदा नुन नलागेको  तरकारीझैँ खल्लो भएको छ जिन्दगी पनि । एक्लै पस्कँदा एक्लै खाँदा / कहिल्यै केही नपाक्दा प्रयोगशून्य अरू भाँडाहरू  रिसाउन थालेका छन् मसँग ।

तिमी नहुँदा रोगीको अनुहारझैं बेरङ्ग भएको छ कोठा पनि । बिछ्यौना पनि । समय नभएको पनि होइन । फुर्सद नभएको पनि होइन । तर पनि हरेक साना साना कुराहरू पनि सुनाइरहनपर्ने तिम्रो त्यो प्रेमिल बोली/ त्यो मायालु हेराइ र स्नेही  स्पर्शको अभावमा संसारै रित्तो देख्न थालेको छु । श्वास फेर्नसम्म पट्यार लाग्न थालेको छ ।

तिमी नहुँदा कोठाभरि चुरोटको धूवाँको गन्ध/ कुनाकाप्चामा जमेका धूलो र माकुराको जालो/ भित्ता र भुइँतिर सलबलाइरहेका साना ठूला साङला / प्रकाशशून्य झ्यालखानाजस्तो उज्यालो वर्जित अँध्यारो भएको छ कोठा । भट्टीबाट मातेर फर्कदाँ  ढोकै नखोली फेरि भट्टीतिरै फर्किउजस्तो हुन्छ । ढोका खोल्नै मन लाग्दैन । कोठाभित्र पस्नै मन लाग्दैन ।  झ्यालको धुलाम्मे सिसाझैँ विरुप भएको छ मन तिमी नहुँदा । पर्दा त खोल्छु झ्यालबाहिर हेर्न तर अहो यो हावाले पनि कति पोलेको ।

तिमी नहुँदा यो साँझको क्यानभास पनि कति कुरूप लागेको  । बिहानको सूर्यस्नान पनि कति ठिही लागेको ।

तिमी नहुँदा तिमीसँगै हात समाएर हिँडेका यी युगौँ परिचित गल्ली र बाटाहरू पनि कति विराना लागेका । तिम्रो सम्बोधनको अभावमा कानले सुन्नेजति जम्मै जम्मै आवाजहरू किन यति कर्कश लागेका ।

तिमी नहुँदा धर्ती हेर्छु  पहाडहरू रोइरहेको देख्छु । आकाश हेर्छु हृदयमा सम्झना र अभावहरू उकुसमुकुस भएको जस्तो ताराहरू टिलपिल टिलपिल गरिरहेको देख्छु ।

मेरी मायालु ! मेरो हृदयकी ढुकढुकी तिम्रो अनुपस्थितिले आँखामा हरक्षण बादल मात्रै लागेको छ । यो जिन्दगी नै चोइटाचोइटा परेको छ ।

तिमी नहुँदा वर्षामा पनि जिन्दगीमा यो कस्तो खडेरी परेको छ ?

(Free Verse of Vers Libre)

© आर्यश