आज फेरि
दिनभरि झरी पर्यो
रुझायो बेस्सरी गाउँ र बस्तीहरू

यसरी
सक्किन लागेको वर्षा याममा
फेरि पनि वर्षात हुँदा आनन्द महसुस गर्दै
झुलेका धानका बालाहरु रमाइरहेछन्
र बेस्सरी तात्तिएको जमीनसँग मित्रता गाँसिरहेछन्

वर्षात
जसरी आएझैँ फर्किएर यामको अन्त्यमा
त्यसरी नै तिम्रा यादहरु आइरहेछन् मेरो मस्तिस्कभरि
सोच्छु केही पनि सक्किएर नजाने रहेछ यो संसारबाट
र एकदिन यादहरूझैँ तिमी पनि आउने छौ मेरो जीवनमा

जसरी
वर्षातले बालीहरुको प्राण बचाएको छ
त्यसरी नै तिम्रा यादहरुमा म बाँचिरहेछु
जसरी धर्तीले वर्षाको महसुस गरेको छ
त्यसरी नै मैले तिम्रो महसुस गरेको छु

फेरि सोच्छु
भमराहरूले फूलको रसपान गर्न त वर्षात रोकिनु पर्छ
बचेराहरूले भोक मेटाउन पनि वर्षात रोकिनु पर्छ
घाम र पानी एक अर्काका परिपुरक रहेछन्
एकपछि अर्कोको जरुरी परिरहन्छ

यसर्थ,
तिमी जानुको पनि केही अर्थ हुँदो हो
तिमी आउनुको पनि केही अर्थ होला
फरक यत्ति हो
तिमी आएको दिन घाम उदाउँछ
तिमी गएको दिन वर्षात हुन्छ।

इटहरी