थुक्क घिच्न पनि के सारो घिचेको रैछ
ए छोड् न, के भो त कमसेकम घोच्न परेको छैन
ऊ त्याँ त्यो तेलको बाक्सा लुका जा
धनाढ्यजस्तो छ यस्को खलक
दाम अलि दबाएर माग्न पर्छ है !
भरे धरानेसँग लामो घाँटी तुन्काउन पर्छ

जोडजोडले भर्भराउँदै चटटट गर्दै पूरै घाट उज्यालो हुने गरी दन्किरह्यो
एकोहोरो शंख गुन्जिरह्यो
एक एक अङ्ग
अङ्गसँग छुट्टिरह्यो
घोचिरहेछन् हिर्काइरहेछन्
ठोसिरहेछन् त्यो खप्पर
पल्टाइरहेछन् मुटु
राता गाला रन्किरहेछ शरीर

ए मनुवा तँलाई पनि यस्तै ठोस्छन् एकदिन याद गर
हतार नगर सुस्त गर
यो तेरो धर्म हो चुस्त गर
सक्दैनस् बनाउन तैंले
सक्छस् देखा दुरुस्त गर
हैरान छु किन प्राण लिएछु यस्को
फिर्ता गरिदिन्थेँ मिल्ने भए
चिच्याइरहेछन् दूतहरू

हेरिरहेछ आत्मा धुँवाको ओछ्यानबाट
चीत्कार सुनिदैन अर्को दुनियाँबाट
नपोल मेरो शरीर
घोप्ट्याइदे पानी
फुटाइदे शंख
भत्काइदे चिता
फर्की जा मलामी
उठाइदे बुर्की
टिपिदे टिला
च्यातिदे कात्रो

ए यो छोरा चैं हुन पर्छ
नाङ्गै छ, मुडुलो टाउको
छुन कसैलाई नमिल्ने
डुँडुलै हात खुट्टा नि खाली
न हातमा थाली
के पूजा गर्छौ ?
माटोको थुप्रो
ढिक्कुरो भनी
ढाड पनि कुप्रो
त्यत्रा घर छहारी झुपो
न आँखाको आँखी भौं अझै त्यसमा शोख भरेर

सपिण्डी, सोदक, सगोत्रीको टाउकोबाट मरणाशौचको भार हट्दै छ
दशौं दिनमा शिर मुन्डिएर
एघारौंमा खोचा बगाएर
बाह्रौँमा सबै काज थन्को लगाएर
तेह्रौँमा चोखिएर
छोरा मुक्त हुन तम्तयार भएर बसेको छ
थाहा छैन बाउले मुक्ति पायो कि पाएन
बटारेको पिण्ड खायो कि खाएन
करमपात्रको तर्पन पियो कि पिएन
दानपात्र वस्त्र लायो कि लाएन
मानेर गाई त्यो भेटिको पुच्छर झुन्डेर
स्वर्गको ढोका खुल्यो कि खुलेन

सोध्न मन छ कुनै यन्त्र भैदिए
बाँधेर राख्ने कुनै तन्त्र भैदिए
हो, म पनि माला जप्ने थिएँ
मान्छे नमर्ने कुनै मन्त्र भैदिए ।