उस बेला
भालेको डाक मेरो अलार्म थियो
त्यसले सबेरै व्युझाउँथ्यो
दियालो मेरो बिजुली थियो
त्यसले अँध्यारोमा पढ्न सघाउँथ्यो
आँगनमा फुलेका घडी फूल र
दलानबाट ओर्लिने ओझेली मेरा घडी हुन्थे
तिनकै भर र विश्वासमा
कहिले
आमाले पकाउनु भएको कोदोको खोले मोहीसँग पिएर
कहिले
च्याँख्लाको भात फर्सीको मुन्टासँग खाएर
किताब कापी काखीमा च्यापेर स्कूल कुद्थेँ
पढ्न र लेख्नलाई
उस बेलाको मेरो अलार्म
साँच्चै प्राकृतिक थियो
त्यसले मलाई समयमै व्युँझायो
बिजुली पनि प्राकृतिक थियो
त्यसले अँध्यारोलाई पन्छाउन सिकायो
घडी झनै प्राकृतिक थियो
त्यसले मलाई सही समय बुझायो
अभाव उसै प्राकृतिक थियो
त्यसले मलाई संघर्ष र दुःख गर्न सिकायो
आज हामीसँग
अलार्म कृत्रिम छ
शायद तिनले समयमै व्युँझाएन
बिजुली कृत्रिम छ
शायद त्यसले अँध्यारो पन्छाइदिन सकेन
घडी कृत्रिम छ
शायद तिनले सही समय चिनाएन
अभाव कृत्रिम छ
शायद तिनले मिहिनेत र संघर्ष सिकाएन
विश्वव्यापीकरण र आधुनिकीकरणले
हुँदाहुँदा हामी आफैँ कृत्रिम हुँदैछौँ
मानवता र सामाजिक एकता कृत्रिम हुँदैछ
अब भन्नुहोस्
हामीले बनाएका कृत्रिमहरू आफैँ कति टिक्लान्
बनिएका हामी कृत्रिमहरू कति टिकौँला ?
ओखलढुंगा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।