पालेर इन्द्रेणी सपना
निरन्तर जुध्दै विघ्नहरूसँग
लम्किरहन्छ समुद्र भेट्ने यात्रामा
उसले बोकेको हुँदैन कुनै ज्यावल
परनिर्भर पनि हुँदैन ऊ कसैसँग
आफ्नै मेहनतले सुस्तरी–सुस्तरी
फोर्छ बडेमान अक्करहरू पनि
अनि खुसी बाँड्छ पहाडी पखेराहरूलाई
गुञ्जाउदै ‘छङ छङ’ को सुमधुर धुन
एक्लै जुध्नु पर्दा पनि पहाडसँग
रतिभर आत्तिदैन ऊ
पराजित गरेर पहाडलाई
सफलता चुम्दा पनि
कहिल्यै मात्तिदैन ऊ
आफ्नै शैली, ढाँचा र चालमा
निरन्तर लम्किरहन्छ समुद्र भेट्ने यात्रामा
परिस्थितिको दास पनि बन्दैन ऊ
तर राम्ररी पहिचान गर्न सक्छ परिस्थितिको
त्यसैले त
ऊ कतै धारो बनेर तिर्खाएका मनलाई पिलाउँछ
कतै पैनी र नहर बनेर
किसानका पसिना फुलाउँछ
कहिले आफ्नो स्वच्छ र निर्मल छातीमा
ढलको आलिङ्गन पनि स्वीकार गर्छ
मसानघाट बन्न पनि तयार छ ऊ
पापका मयलहरू ग्रहण गरेर
धर्म ओढाइदिन पनि तयार छ ऊ
तर उसको पहिचान खोसियो भने
या अस्तित्व नामेट गर्न खोजियो भने
उसले भत्काउँछ धैर्यको बाँध
अनि कतै निष्ठुरी बाढी बनेर उर्लन्छ ऊ
कतै भलपहिरो बनेर गर्जन्छ ऊ
चलाउदै दुश्मन निर्मूलनका अस्त्रहरू
सिकाउँदै जीवन बाँच्ने नयाँ तरिकाहरू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।