आँखामा थाती राखेर
इन्द्रेणी सपनाहरू
हामी यथास्थितिसँग
अनिश्चितकालीन युद्धविराममा छौँ
आफ्नै इन्द्रियहरूलाई
हतकडी लगाएर
पल्टिएका छौँ समयअघि निरीह
काँतर पर्खाइमा छौँ
आदर्श झिल्काको
चुपचाप पर्खँदै छौँ बर्सौँदेखि
साहसी झिल्का
जसलाई जिम्मा लगाएर
गर्नुपर्ने कामहरूको
एउटा लामो सूची
फर्कन चाहन्छौँ फेरि
उही कुम्भकर्ण निद्रामा
पर्खदैँ छौँ
झिल्का जिब्राहरू
जसले हाम्रा लागि बोलिदिऊन्
झिल्का हातहरू
जसले हाम्रै भलो गरिदिऊन्
झिल्का खुट्टाहरू
जसले पहिल्याइदिऊन् हाम्रा लागि मार्ग
हामी बस् पछ्याइरहौँ
हरेक पदचाप
हामी विश्वस्त छौँ
नायक झिल्काले नै
जुटाएर एक भूगोल हिम्मत
तोडिदिने छन् प्रतिबन्धका पर्खालहरू
विभेदका बनमाराहरूमा
डँढेलो सल्काएर
ल्याउने छन् पालुवा समानताको
हामीले कहिल्यै बनाउन आँटेनौँ
बनाउने छन्
मान्छेसँग मान्छे जोड्ने पुल
हामी झिल्का पटक्कै होइनौँ
किनकि
हाम्रा परिवार छन्
छोराछोरी छन्
अझ छ ‘प्यारो भविष्य’
जसका लागि बाँचिदिनै पर्छ हामीले
यसरी पर्खिरहेछौँ झिल्का
जो बाँचिदिओस् हाम्रा लागि
आफ्नै सुगन्ध नचिनेर
कस्तूरी झैँ भौतारिँदै छौँ
आफूभित्रको आगो निभाएर
हामी झिल्काहरू पर्खँदै छौँ ।