जीवन मासिन्छ,फेरि उम्रिन्छ, प्रकृति मर्दैन
यौवन नासिन्छ,फेरि उम्रिन्छ, प्रकृति मर्दैन
शाश्वत रहने थोक हो, मीठो अनुभूति यो
घरीघरी पलाइरहने वसन्त हो प्रेमानुभूति यो
जीवन हुँदैन नयाँ न पुरानो, प्रेमानुभूति पनि
बाँच्ने शैलीले फनफनी बेस्सरी बेह्रिए पनि
निस्सासिएको मन उदाङ्गो पार्ने
तत्त्व नै प्रेमानुभूति रहेछ
एउटा शाश्वत तत्त्व हृदयभित्र झुण्डिरहने तुर्लुङ्ग !
अक्षरहरू भएर पन्नाहरूलाई अँगालिरहने गुम्लुङ्ङ !
आधुनिक-उत्तरआधुनिक विचारका थाक्राहरूमा
कति दिन नयाँ भएर उभिन्छ हँ जीवन?
त्यसपछिको जीवन
कति नयाँ ?
कति पुरानो?
सधैँ नयाँको पछि लाग्ने?
पुरानोदेखि भाग्ने ?
नयाँ भनेको एउटा अमूर्त शब्द मात्रै,
न त यसले प्रेमानुभूतिलाई नयाँ बनाउन सक्छ,
न त यसले जीवनलाई पुरानो कलाउन सक्छ,
फेरि अहम् किन पाल्ने नयाँ हुँ भन्ने ?
फेरि बहाना किन बनाउने नयाँ हुँ भन्ने?
शाश्वत् थोकलाई कसरी चिन्ने?
कुन नयाँ ? कुन पुरानो?
प्रश्न यो कसलाई सोधूँ?
नयाँलाई कि पुरानोलाई?
कुरो जवानी र बुढ़ेसकालको होइन
जीवनचक्रको हो,
कुरो बँचाइ र जँचाइको होइन
शाश्वत वृत्तको हो,
जुन चलिबस्छ ,जुन घुमिबस्छ
जसको आदि छ न अन्त,
अनादि रूप यो अदृश्य कस्तो हो !
चलिरहन्छ, घुमिरहन्छ
अनन्त छ यात्रा यसको
अहो!
आदि अनादिको चरित्र भिर्ने
मनदेखि आत्मासम्म चिर्ने
अदेख अनुभूति कस्तो हो यो!
अनन्त क्रम जारी छ
कुन नयाँ?
कुन पुरानो ?
वादहरूको भुँवरीभित्र?
०००
डाउहिल, खरसाङ, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
राजु प्रधान “हिमांशु”
भाद्र २४, आईतवार ११:०१