मेरो बिदाइमा खस्नेछन् एकएक ताराहरू
जसरी
आफ्ना प्रियजन मर्दा
खसाल्छ्न् मान्छेले आँशुका ढिक्काहरू
शून्य हुने छ यो अस्तित्व
रातको झिलिमिली शहरमा
अचानक लाइन गए जस्तो

एकएक गरी
म्यालका फूल वा, सिमलको भुवा हावाले उडाए झैँ गरी
जब क्रमशः अलग हुनेछन्
अनन्त- अनन्त तारापुन्जहरू मेरो हृदयबाट
तब साक्षी भावले हेर्ने छु आफैँलाई
गहन विपश्यनामाआफ्नै संवेदनाको
अनुभूति गरिरहेको ध्यानीले झैँ !

प्रेमले
गुरुत्वाकर्षणद्वारा बाँधिराखेको छु अनन्त तारापुन्जहरूलाई
केही मान्छेले अरू मान्छेलाई घृणा गरेर नछोएझैँ
मैले पनि छुन छोडिदिएँ भने यी तारापुन्जलाई
अन्तरीक्षमै बिलाउने छन् अनन्त यी तारापुन्जहरू
र, टुट्ने छ सम्बन्ध सधैँसधैँको लागि

उड्दै गरेको पक्षीको
अचानक कतै कुनै प्वाँख खसेँ झैँ
जब
कुनै एक तारापुन्ज खस्ने छ मेरो हृदयबाट
तब दु:खी हुनेछु
भर्खरै फेरि कैयौँ जीवनको अन्त्य भयो भनेर

मेरो बिदाइमा
तारापुन्जहरू एक-आपसमा ठोक्किन सक्छन्
त्यो आवाज
मान्छेले परमाणु बम पड्काएको जस्तो
अत्यन्तै सानो हुने छैन
आगोको मुस्लो देखिन सक्छ
जुन
ज्वालामुखी बिस्फोट हुँदाझैँ
वा, अमेजन जंगलमा आगो लाग्दाझैँ
केही प्राणीले मात्रै देख्न सक्ने हुने छैन

मेरो अन्त्य
पहेँलिएको पात झरेजस्तो हुने छैन
कुनै दीर्घरोगी मरेजस्तो पनि हुने छैन
बरु, अचानक चट्याङ परेजस्तो हुनेछ
हृदयघातबाट मान्छे अचानक मरेजस्तो हुनेछ

मेरो अन्त्य
महासागरमा ज्वार उठ्दाझैँ
सुनामी चलेझैँ, आँधी, तुफान चलेझैँ
ठूलो पहिरो खसेझैँ, बस्तीमा बाढी पसेझैँ
वा, पृथ्वीमा ठूलो भुइँचालो जाँदा झैँ
तिम्रो कल्पनाको फ्रेमभित्रको हुने छैन
बरु,
रातीमा आकाशबाट खस्दै गरेको उल्का
हेर्दाहेर्दै अचानक कतै बिलाएजस्तो
वर्षा याममा झिलिक्क बिजुली चम्किएजस्तो
वा, उच्च तापक्रममा फलाम पग्लिएर
एक्कासि बाफ बनेजस्तो हुन सक्छ

म उड्दै-घुम्दै छु
फैलिरहेको छु नित्य निरन्तर
कहिले र कतिसम्म फैलिरहन्छु
केही पनि भन्न सक्तिनँ म

उड्दै गर्दा
ब्ल्याक होलले मलाई निल्न सक्छ
मेरो अस्तित्व शून्यमा मिल्न सक्छ
त्यो बेला
सिंहको मुखमा परेको गर्भिणी मृगझैँ
आफ्नो गर्भका अनगिन्ती जीवनको मृत्यु देखेर
बिदा हुँदै गर्दा
आश्चर्य र कृतज्ञताका आँशु खस्नेछ्न्
संयोगले अस्तित्ववान हुन पाएकोमा
अनगिन्ती जीवन-फूल फक्रिएको हेरेर
यी सँगसँगै हाँस्न अनि रुन पाएकोमा
अनि, फेरि
दु:ख र पीडाका आँशु वर्षने छन्
अनन्त जीवनको अन्त्य हुने देखेर
अवशेष त पक्कै रहन्छन् नै केही
छोड्ने छु मेरा यिनै सुखदुःखका आँशुले
अस्तित्वको सुन्दर एक कविता लेखेर

पछि
पुन: जन्मिनेछु फिनिक्सझैँ
र, गतिशील रहने छु
अस्तित्व- ऊर्जाको अभिन्न अंश भई

कत्ति पनि चिन्ता नगर
मेरो (ब्रह्माण्डको ) अन्त्य हुनु
अस्तित्वको अन्त्य हुनु होइन ।