(कवि दुर्गा दाहाल तीसको उत्तरार्द्धदेखि कविता लेख्न थालेका हुन् । उनको एक कविता संग्रह “फलामको मान्छे” प्रकाशित छ ।)
फलामको मान्छे
—दुर्गा दाहाल
निर्धक्क काँटी रोपेर हड्डीका थुक्कामाथि
बदनामी हातहरू
बेनामी आँखाहरू
लिलामी पाइतालाहरू
निरङ्कुश सपनाहरू
र काँतर हस्ताक्षरहरू
इतिहासदेखि
बुखेनवाल शिविरका जर्जर भित्ता भएर
मलाई फर्सी पछार्छन् ।
मलाई अब जन्मने कुनै इतिहासप्रति विश्वास छैन
मान्छेका सपनाहरू र
दोहोरिने इतिहासहरू सब एउटै हुन्
इतिहासको चक्कामा मान्छेका आकांक्षाहरू कसरी पेलिन्छन् ?
मलाई नसोध ।
भरियाको पसिनामा र अनुहारमा खोज्नू
त्यहाँ त्यसको उत्तर हिजै लेखिएको छ ।
मान्छे फलाउन बनिएका यी सडकहरू
मान्छेको पसिनाको महागाथा
रातारात टैंक ओछ्याएर
लाश खोज्ने आकांक्षाहरू
मान्छेको महासागरमाथि ?
मलाई विश्वास छैन
तिमी जुनसुकै स्वर्णयुग आउन सक्छौ
मलाई विश्वास छैन
तिमी जुनसुकै स्वर्णयुग ल्याउन सक्छौ
म त तिमीलाई
उही पुरानो गीत भन्छु
बदनामी हातहरू
बेनामी आँखाहरू
लिलामी पाइतालाहरू
निरंकुश सपनाहरू
र काँतर हस्ताक्षरहरू !
मलाई संसार भिराउने
मेरा आदम र इभहरू
माटोको भाँडोमा ?
तिरस्कार छ ! आजै
तिमीजस्ता कोमल स्रष्टालाई
जसले कुनै युगमा पनि
मलाई फलामको मान्छे बनाउन सकेनौ
जसले कुनै युगमा पनि
मलाई प्रस्तरको मूर्तिमा उभ्याउन सकेनौ
म अब जन्मँदा
मात्र फलामको मान्छे भएर जन्मने छु
मेरो कुनै घाउ हुने छैन !
मेरो कुनै दाउ हुने छैन !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।