माथि राम्चे डाँडामा
अस्ताउँदै गरेको
खुर्पे जूनले हात हल्लाउँथ्यो
टारी खेत, खल्गरो
र, बेँसीतिर पहेंलपुर
धानका बाला झुलिसक्थे
दशैँको लट्ठे पिङ
कोइरालाको तेर्सो हाँगामा
झुण्डिएकै हुन्थ्यो
गाउँतिर जोर मादल
र, झ्याउरे भाका बजेपछि
तिहार ओर्लिन्थ्यो
ठडेउरो, तेल, बाती
र, केराका सुप्ला
नजिक–नजिक सर्थे
केराको सुप्लामा बलेका बत्तीले
दोबाटो र डहरहरू
रातभरि झिलिमिली हुन्थे
आल्खोलाको पिर्के पिङ
खोडखोडेको रमिताले
भुइँमै स्वर्ग झरेझैँ हुन्थ्यो
धेरै काल भएछ–
त्यो स्वर्ग टेकेर
बुर्कुसी नमारेको !
अचेल, हृदयमा मच्चिएको
हुरीले झस्काउँछ
र, उतै–उतै पु-याउँछ
रङ्गीविरङ्गी फूलका थुँगामा
तिहार झुलेको कल्पेर
म हरेक वर्ष मुर्छा पर्छु
मखमली, सयपत्री र गुर्दौलीको
बासना बोकेर आउँछ
बतास उड्दै उड्दै
दिदीका हातले निधारमा
टाँसिदिएको भाइटीकाको जलप
कल्पेर बल्झिन्छन् सम्झनाहरू
जोर मादलको पाक्कुम–गुम
देउसुरेसँगै आउने लाहुरे हरक
यता त्यस्तो केही छैन
यहाँ त सुनिन्छन्, केवल
कंक्रिटको जङ्गलभित्र
आदिम सिम्फोनीहरू
उराठ औंशी घोप्टिएर
उदास विरही चखेवा
रोइबस्छ, वियोगको हाँगामा
जीवन हुनुका अर्थहरू
यसरी मर्दै गएपछि लाग्छ–
तिहार त गाउँमै छुटेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।