नदेखेको कुरा सुनाउने, मेरो एउटा अन्जान साथी छ
नभनेको सम्बन्ध खुट्याउने, उसको अनौठो खुबी छ
दिउँसो कहिलै नदेखिने, ऊ मलाई खाली राती मात्रै भेट्छ
कहिले मध्यरात त कहिले बिहानी, सपना बनेर आउँछ
अनि,
बिर्सेकी मायालाई आफूसँगै देखाई, मन यो भारी बनाई जान्छ
धेरैपछि बिहानी निद्रामा आयो ऊ आज
र लग्यो मलाई माया कै महलमा,
सोध्यो आफैं, थियो बुढ्यौली भेषमा
“कसलाई भेट्न आउनु भयो यो शहरमा ?”
सुनायो नालीबेली मेरो परिवारको,
बताई आफूलाई उनको पनि आफन्त,
अनि त अन्जान साथी ऊ तर म भएँ बाध्य,
बताउन हामी बीचको साथी सम्बन्ध
हरायो ऊ एक्कासि महलबाट,
अनि माया आइन् एकैछिनमा
र लगिन् मलाई आफ्नै कोठामा,
खोलिन् पाइन्ट र देखाइन् निल तिघ्रामा,
लडिछिन् चिप्लेर बाटोमा
लगाउँदै थिएँ मल्हम उनलाई निसंकोच भन्दै नहुँदो रै’छ प्रेम कहिलै पुरानो
झसङ्ग देखें उसलाई हेर्दै गरेको माथिल्लो तलाबाट
रै’छ त्यो त आखिर सिसाको घर, अनि शहर थियो बिरानो
नदेखेको कुरा सुनाउने,
मेरो एउटा अन्जान साथी छ
नभनेको सम्बन्ध खुट्याउने,
उसको अनौठो खुबी छ
दिउँसो कहिलै नदेखिने ऊ,
खाली राती सपना बनेर आउँछ
अनि बिर्सेकी मायालाई आफूसँगै देखाई
मन यो भारी बनाई जान्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।