भगवान् !
तिम्रो मौनता भत्काउँदै
फैलिएको छ द्वन्द्वको गर्जन
चर्किएको छ युगको शान्ति !

असुरका लस्कर बीच
खोज्दैछ समय
बुद्धका पदचापहरू

कोलाहलले निलेको
घडीको टिकटिक जस्तो
त्यो ब्रह्मरश्मि खोज्दै
खोच्याइरहेको छ बिहान
बोकेर पिठ्यूँमा शव सत्यको !

धर्मको हृदयमा घाउ लागेको छ
मानवताको आयाम दुब्लाएको छ !

रथ दलदलमा छ
सारथि अलमलमा छ !

हे ईश्वर !
किन चाहियो मानिसलाई नयन ?
देखाई छाड्यौ नि
यो कुरुको विलाप
दिगन्त खण्डहरमा मानवता !

कसरी हेर्नु प्रेमका चिहानहरूमा
छरपस्ट टुक्रिएका बाहुहरू
हिँड्दा हिँड्दै काटिएका पाउहरू
चीलले प्वाल पारेका आँखाहरू
बाजले चिथोरेका मुटु कलेजाहरू !

हे दैव !
किन दियौ मानिसलाई कान?
सुनाई छाड्यौ नि
गिद्दका डकारहरू
निर्दोष सिपाहीका ऐय्या र उफ्हरू !

रक्तपातको मौन साक्षी बन्नु
नियति रहेछ शायद !

हे परमेश्वर, साँच्चै तिमीले नदेखेकै हो र?
शान्तिको छायामा होश गुमाउने स्वामीहरू
लासको थुप्रोबाट अकुत कमाउने नायकहरू !

दर्पण बनेको छ संसार
निर्लज्ज हेरिरहेका छन्
शक्तिका पुजारीहरू
मानवधर्मको दारुण दशा !

तनहुँ, हाल: क्यानडा