मेरो प्रिय दुश्मन
तिमीले मेरा लागि ‘हार्दिक श्रद्धाञ्जली’
लेख्न नपरोस्
मेरो प्रिय दुश्मन
तिमीले आफ्नैको असीमित दुखान्त
देख्न नपरोस्
तिमी शक्तिमा छौ
स्व-पदमा मग्न छौ
पद, मद र धन रमरमले मस्त छौ
तिमी पछि पनि यिनले नछोडून्
तिमीलाई हार्दिक शुभकामना
तिमीले मेरा लागि ‘हार्दिक श्रद्धाञ्जली’
लेख्न नपरोस्
तिमीले दुःख देख्न नपरोस्
खोक्रो जीतका लागि षडयन्त्रको भारी बोक्न नपरोस्
जीत (?)को शुभकामना ।

पर्वत
हालः विद्यानगर, काठमाडौँ