कहिलेकाहीँ त अतित पनि
सपनाजस्तै हुने रहेछ
कस्तो रमाइलो हुन्थ्यो
त्यो पल
बिहीबारे हाट लागेको
अझै मन मस्तिष्कमा उस्तैगरी सजिएको छ
ऊ बेलाकै हाट कल्पना गर्दै
उही जोश जाँगरका साथ
छोराहरू र श्रीमतीसहित
बाटाभरि हाटमा यस्तो पाउँछ
उस्तो पाउँछ भनेर गफ चुट्दै
हाट पुगेर हेर्दा त
ऊ बेलाको जस्तो केही भेटिएन
राढी र पाखीका ठाउँमा
गलैँचाहरू भेटिए
हेर्दा सुन्दर देखिने ति गलैँचामा सुत्दा
राढी र पाखीमा जस्तै आनन्दको निद्रा भेटिएला त?
मट्याङ्ग्रा र गुलेली पाउनुको सट्टामा
मल्टिनेशनल कम्पनीद्वारा निर्मित
महङ्गा महङ्गा प्लास्टिकका खेलौना भेटिए
गुलेली खेलाउने बच्चाहरूका रहर त्यहीँ मेटिए
चाक्साला बदाम बयर खाने सोचेको म
चाउचाउ बिस्कुट कोक फेन्टा मात्रै देखेपछि तीन छक्क परेँ
छोराहरूलाई ढाँटेजस्तै भयो
थाहा छैन किन हो किन
यो मन फाटेजस्तै भयो
चिम्फिङ माझिफल ठूलो ओखत पाखनभेद भेटिएनन्
भेटिएनन् ठेकी हर्पे मदानीहरू
भेटिएन कर्द चुलेसी दोफे अनि कोदालाहरू
माना पाथी कुरुवाहरू पनि भेटिएनन्
मकै धानसँग आलु केराउ साटेको देखिएन
गुन्द्रुक सिन्कीसँग खुर्सानी साटेको देखिएन
बस्नलाई फलैँचा भेटिएन
भेटिए केवल सिमेन्टका पर्खालहरू
तीतेकरेला बोडी सिमी राम्भेडा किन्न गएको त
हाटमा बिदेशबाट आयातित
शहरहरूमा पाउने जस्तै
एकै आकारका तरकारीहरू भेटिए
भेटिएनन् रैथाने कुनै तरकारीहरू
भेटिएनन् अम्बक केरा सुन्तलाहरू
भेटिए केवल विदेशी स्याउहरू
थचक्कै बसेर त्यही सिमेन्टको पर्खालमा
सोच्दै बसेँ आज हाट नआएको भए हुने रैछ बरु
विहीवारे हाटमा हाट भेटिएन म के गरुँ ?
दोष समयको हो कि
मेरो आकाङ्क्षाहरूको
छुट्टयाउनै सकिनँ के हो के हो
छोराहरूको प्रश्नको जवाफ फर्काउन सकिनँ
अतितहरू धेरै पर छुटेछन्
गाउँ मात्रै फेरिएनछ
फेरिएछन् तमाम सपनाहरू
र फेरिएछ आफैँले बाँचेको आधा हिस्सा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




