ताप्लेजुङ !
तिमीले मलाई बग्न सिकायौ–तमोरजस्तै
हाँस्न सिकायौ–कञ्चनजङ्घाजस्तै
निर्मल बन्न सिकायौ–सिञ्जेमाजस्तै
एकाबिहानै कुम्भकर्णमा ठोक्किएर उदाएको घाम
मलाई न्यानो लाग्थ्यो
रातमा पाथीभराको चरणलाई चुमेर पोखिएको जून
मलाई शीतल लाग्थ्यो
लहरै पर्वतका टाकुरालाई छोएर बग्ने बतास
मलाई प्रिय लाग्थ्यो
कति मीठो !
वनपाखामा चराहरूको गीत
कति मनोहर !
अनगिन्ती छाँगा–छहराको नृत्य
हेरिरहूँ लाग्थ्यो
उँभोबाट कुल्कुलाउँदै झरेका कुलेसाहरू
आकाशमा छरपस्ट फुलेका बादलका फूलहरू
सुनिरहूँ लाग्थ्यो
साँझपख झ्याउँकीरीको सङ्गीत
बसन्तमा कोइलीको मोहिनी बोली
तिमी लजाउँथ्यौ
बर्खाको बेला कुहिरोको घुम्टोमा
तिमी रमाउँथ्यौ
साउनको अविरल दर्के झरीमा
ताप्लेजुङ !
तिमीलाई मैले छोडेर हिंडे पनि
मेरा पैतालाका डोबहरू त्यतै छन्
मेरा हाँसोका तरङ्गहरू त्यतै छन्
मेरा आँसुका ढिकाहरू त्यतै छन्
मैले
तनभरि बोकेको छु–सुकेटारको सिरेटो
मनभरि फुलाएको छु–मिल्के/जलजलेको रातो गुराँस
नसा–नसामा बगाएको छु–कावेलीको लहर
मुटुमा छचल्काएको छु–तिम्बुङको पानी
हो, ताप्लेजुङ !
मेरो भौतिक देह यता भए पनि
मैले मुटु उतै छोडेर आएको छु
मायाको फूलबारी उतै गोडेर आएको छु
अजम्बरी प्रीत उतै लाएर आएको छु ।