तिमीले मलाई
ढुक्कसँग मर्न पनि दिएनौ
जिउँदो रहन लायक पनि छाडेनौ

उखेलेर
माटोसँग
सम्बन्धको जरा
अस्तित्वलाई जबर्जस्ती तोडमोड गर्‍यौ
त्यसैले
यति बिघ्न संकुचित छु म
आफैँलाई अत्यास लाग्ने गरी
कुरूप छु

बालकको रहरजस्तो
निमोठ्यौ सपनाको पखेटा
र भविष्यलाई
धकेल्यौ अज्ञातको गर्तमा

मभित्र अन्तर्निहित सम्भावनाहरूलाई
सौन्दर्यको गमलामा
बनाएर आजीवन बन्दी
मेरो खुशीमाथि
लगायौ निषेधको निरंकुश बार

तिम्रै कारण
स्वाधिनताको परिधि खुम्चियो
साँघुरियो स्वतन्त्रताको अनन्त आकाश

तिमीले
मभित्र पलाएका
रहरका आँकुराहरू छिमल्यौ
फूलजस्तो प्रेमभावहरू फुल्ने
मुटुजस्ता डालीहरूमा
चलायौ क्रुरताको धारिलो कैँची
फैलिएर बादल झैँ
छेकिदियौ आशाको अक्षूण्ण जून
बनेर गजधम्म पहाड
रोकिदियौ सृजनाको स्वच्छन्द धुन

तिमीले मलाई
मजस्तो रहन पनि दिएनौ
आफूले चाहेजस्तो बनाउन पनि सकेनौ

एकातिर
स्वत्वलाई निरोधको साङ्ग्लोले बांधेर
स्वगतिको बाटो थुन्ने
अर्कोतिर
विपत्तिको आँधीबाट बचाएर
विभ्रमको जालो बुन्ने

तिमी को हौ ?!

यही अनुत्तरित प्रश्नको भ्रुण बोकेर
चिन्तन गर्भमा
वर्षौंदेखि
म बोनसाइ
तिम्रो कारागारलाई सजाइरहेछु ।