के हामीभित्रको मान्छे कहिल्यै ब्यूँझदैन ?

—विनय रावल

विनय रावल

खोइ के भनूँ
भर्खरै आँखाबाट ओझेल भएको हो ‘ऊ’
कसरी आँखामा बिझ्न सकेको होला ?
मन शान्त गर्न खोज्छु
मन त्यत्तिकै व्यग्रिएर उर्लिन खोज्छ
म कोठामा
रित्तो र शून्यता बाहेक केही देख्दिनँ ।
‘ऊ’ नैतिकता र आदर्शको प्रतीक हो
‘ऊ’ प्रेमको प्रतिमूर्ति हो
अफिसका टेबुलका कुराहरू गतिहीन मार्ग हुन्
कफी हाउसमा साथीहरूसितको वार्तालाप
शून्य भविष्य हो
म जब–जब आफ्नो कोठामा
छरिएका बुद्ध, क्राइस्ट, साई र गान्धीका पुस्तकहरू च्याप्छु

मभित्र मरेको मान्छे
पुनः जागृत हुन खोज्छ
‘ऊ’ प्रत्येकपल्ट
यसरी नै
हामीलाई ब्यूँझाउन खोज्थ्यो ।

आज अकस्मात
‘ऊ’ किन ओझेल भएको ?
कोठा–
केही हराएजस्तो, केही चोरी भएजस्तो रित्तो छ,
शून्य छ,
सबैको अनुहार मलिनो छ ।

यौटा प्रश्न बाँकी छ
के हामीभित्रको मान्छे अब कहिले ब्यूँझदैन ?

(तीसका दशकका कवि रावल अत्यन्त शक्तिशाली कवि हुन् । जो असमयमै हामीबीच रहेनन् ।)