को होली त्यो फूल टिप्ने केटी?
सधैं भेट्छु उसलाई त्यही घुम्तीमा
जहाँबाट भएर म सधैं गुज्रिन्छु बिहानको मेरा दैनिकीहरूसँग
हरेक दिन देख्छु उसलाई
झिसमिसे प्रहरसँगै
एक तमासले फूल टिपिरहेको
फूल टिपिरहँदाको उसको मग्नतालाई देखेर टक्क अडिन्छु
र चुपचाप उसलाई नियाल्न पुग्छु
ऊ कुनै ज्ञानी हो वा कुनै ध्यानि ?
कुनै विदुषी हो वा कुनै तपस्वी ?
अथवा अभिशप्त जीवन बाँच्न बाध्य कुनै दासी ?
कि बुद्ध्त्व प्राप्तिपछि निस्केकी कुनै भिक्षुणी ?

देख्छु सधैं उही एकनासको मोनालिसाको जस्तो मुस्कान
जो उसको मुहारमा सयपत्रीजस्तै फक्रेको हुन्छ
देखेर त्यो, अनुमानको हुरीमा बेरिन पुग्छु
के उसको मुस्कान हजार कथा भन्न आतुर छ?
कि हजार व्यथा लुकाउन मजबुर छ?
शायद निस्सासिएको हुनसक्छ
यो ढोंगी समाजमा उसको फूलजस्तो यौवन
या गुम्सिएको हुनसक्छ उसको सीमाहीन सपनाहरू
जसरी कैद हुन्छन् सुनको पिंजडाभित्र चराका पखेटाहरू
जसरी बन्दी हुन्छन् चार दिवालभित्र भगवानका मूर्तिहरू
वा बाँधिएका हुन सक्छन् उसका पाइलाहरू
जसरी पगा लाइन्छ दुधालु गाईलाई खेत खलियानहरूमा
जसरी दाम्ला लाइन्छ जोत्ने गोरुलाई गोठहरूमा

ऊ फूलसँग साउती मार्छे
फूलको कोमलतालाई सुम्सुम्याउँछे
अँजुलीभरि फूलहरू सँगालेर
घरि उडाउँछे हावामा
घरि सिउरिन्छे चुल्ठोमा
र हेर्छे एकफेर आफ्नै कायालाई
अनि दंग पर्छे देखेर फूलजस्तै आफ्ना अंग–प्रत्यंगलाई
अलिकति लजाउँछे र छोड्छे उही मुस्कान
मोनालिसाको जस्तो मुस्कान
हो, ऊ फूलजस्तै छे सुकोमल, निश्चल (शायद फूलजस्तै नाजुक पनि)
ऊ र फूलमा कति छैन फरक
जसरी फूलका जातहरू अनेक भए पनि
उसको कोमलता उस्तै हुन्छ
जसरी फूलका रंगहरू अनेक भए पनि
उसको सुन्दरता उस्तै हुन्छ
म भन्न सक्छु
फूलका अनेक प्रजातिमध्ये सबैभन्दा उच्च
फूलका अनेक रंगहरूमध्ये सबैभन्दा गाढा
ऊबाहेक अर्को नहोला
ऊभन्दा अर्को नभेटिएला

म प्रत्यक्षदर्शी बनेको छु बिहानको मेरा दैनिकीहरूसँगै
ऊ सधैं आउँछे त्यही घुम्तीमा झिसमिसे प्रहरसँगै
र टिप्छे फूल डालीभरि
गालामा टाँसेर फूललाई ऊ घरी फुसफुसाउँछे, घरि गुनगुनाउँछे
एउटा फूलसँग अर्को फूलको त्यो क्रीडालाई
एउटा फूलसँग अर्को फूलको त्यो साउतीलाई
म भोग्छु समीपबाट ती सबै
र गम्छु
शायद ऊ साट्दी हो दुःखका अन्तहीन अग्ला पहाडहरू
शायद ऊ साट्दी हो सुखका अन्तहीन उज्यालो आकांक्षाहरू

को होली त्यो फूल टिप्ने केटी ?

के गर्छे होली लगेर ती फूलहरू ?
कुनै मन्दिरमा चढाउँछे कि सिउरेर
आफ्नै चुल्ठोमा शिरफूल बनाउँछे?
कुनै सज्जनको गलामा पहिर्‍याउँछे कि
कुनै दुर्जनको पाउमा बिसाउँछे?
कसरी सोधुँ, कुन आराध्यदेवलाई सजाउँछे ?

को होली त्यो फूल टिप्ने केटी ?

जो सप्तरंगी उमेर बोकेर फिका फिका बाँचिरहेकी छे
हाँस्नु पर्‍थ्यो खितखिताएर केलाई साँचिरहेकी छे ?
के उसलाई जानु छैन संगीसँग गेटटुगेदर ?
किनमेल गर्नलाई सपिङ मल ?
ब्रान्डेड जुत्ता,टि–सर्ट, ग्रन्च पेन्ट
सनग्लास अनि हत्केलामा ट्याटु खोपेर
के रहर छैन उसलाई जिउन इन्द्रेणी जीवन?
केले छेक्यो प्रेमीसँग जानलाई डे–आउट, थ्रीडी सिनेमा
र कुनै भाइरल गीतमा एकलट
‘कपी एक्स्प्रेसन’ दिएर रिल बनाउनलाई ?
केहि क्लिप्स भिडियोको खिचेर टिकटकमा लाइभ बस्नलाई ?

को होली त्यो फूल टिप्ने केटी ?

कुनै पापाकी राजकुमारी वा आमाकी परी ?
वा कुनै जड्याँहा लोग्नेकी दुखिया स्वास्नी ?
वा कुनै आवारा प्रेमीबाट धोका पाएकी विक्षिप्त प्रेमिका ?
वा ‘हनिमून ट्रीप’ बीचमै छाडेर
परदेश फर्केको लाहुरेकी नवविवाहिता ?
वा कुनै नौजवानको सपनाकी रानी?
वा रातदिन सासुको टोकेसोले दिक्दार बुहारी ?
वा हिंसाले थिलथिलिएकी पीडित विधवा ?

किन मलाई उसँग बोलुँ बोलुँ लाग्छ ?
उसको मनभित्र के छ? एकफेर सोधुँ सोधुँ लाग्छ ।