विज्ञान भन्छ
रङ्ग आँखामा हुन्छ
त्यसैले हामी देख्छौँ
भावना भन्छ
रङ्ग मायामा हुन्छ
र त
हृदयमा भेटिन्छ
चेतना भन्छ
रङ्ग नै हुँदैन
यो त केवल
समयको भ्रम हो
समय नै हो
जसले
जीवनमा रङ्ग भर्छ
जवानीमा रङ्ग भर्छ
ऋतुमा रङ्ग भर्छ
रात र दिनमा रङ्ग भर्छ
सूर्यले
दिनमा उज्यालो दिन्छ
चन्द्रले
अँध्यारो रातमा
समयले
दिनलाई सेतो रङ्ग दियो
र
रातलाई कालो रङ्ग दियो
समयले छेपारोलाई मात्र
रङ्ग फेर्न सिकाएन
मान्छेको नियतमा
रङ्ग भरिदियो
मान्छेको नियतले
रातलाई सेतो रङ्गको बनायो
र
दिनलाई कालो रङ्गको बनायो
सुन्दैछु,
मेरो देशमा
आज भोलि
सज्जनहरू
रातमा मात्र
विचरण गर्छन् रे
किनभने
दिनको उज्यालोमा
मनमा कालो पोतेकाहरू
व्यापार चलाउँछन् रे !
विडम्बना,
मेरो देशको शासन व्यवस्था
दिनमा नै सञ्चालन हुन्छ ।
एडमन्टन, क्यानडा
११६ औँ लक्ष्मी जयन्ती



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 










