अवतार सिंह सन्धु ‘पाश’

 

अवतार सिंह सन्धु ‘पाश’

अवतार सिंह सन्धु ‘पाश’

पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन
पुलिसको पिटाइ त्यति खतरनाक हुँदैन
गद्दारी र लोभले मुठ्ठी पनि त्यति खतरनाक हुँदैन

बिना अपराध पक्राउ पर्नु नराम्रो त हुँदै हो
डरमर्दो मौनताले दबिएर बस्नु नराम्रो त हुँदै हो
तर सबैभन्दा खतरनाक हुँदैन

कपटीहरूको घनचक्करमा
सही हुँदाहुँदै पनि पिसिनु नराम्रो त हुँदै हो
अधिकारको लडाईँको बाटो नदेखे झैँ गर्नु
चिसा मुट्ठी फिँजाएर समय कटाउनु नराम्रो त हुँदै हो
तर सबैभन्दा खतरनाक हुँदैन

सबैभन्दा खतरनाक कुरा हो
मुर्दा शान्तिले भरिनु
कुनै छटपटी नहुनु, सबै कुरा सहनु
घरबाट सरासर काममा जानु
र कामबाट घरमा फर्किनु,
सबैभन्दा खतरनाक कुरा हो
हाम्रा सपनाको मृत्यु हुनु

सबैभन्दा खतरनाक हुन्छ त्यो घडी
जो तपाईंको नाडीमा चलेर पनि
तपाईंको लागि रोकिए जस्तै हुन्छ

सबैभन्दा खतरनाक ती आँखाहरू हुन्
जसले सबै कुरा देखेर पनि जमेको बरफ जस्तै हुन्छन्
जसको नजरले संसारलाई प्रेमिल चुम्बन दिन सक्दैन
जुन दृश्यहरूबाट उठ्ने अन्धोपनको बाफमा तैरिन्छ
जसले दिनचर्याका सबै कर्मलाई चुपचाप पिउने गर्छ
र लक्ष्यविहीन पुनरावृत्तिको उतारचढावमा हराउँछ

सबैभन्दा खतरनाक त्यो चाँदनी हो
जुन हरेक हत्याकाण्ड पछि
सुनसान आँगनमाथि चढ्छ
तर यसले तपाईंको आँखालाई खुर्सानीले जस्तै पोल्दैन

त्यो गीत सबैभन्दा खतरनाक हुन्छ
जो उसको कानसम्म पुग्दा
चिहान बन्दना सुने-पढेझैँ लाग्छ
आतंकित मानिसहरूको ढोकामा पुगेर
गीतले,गुण्डाले झैं थर्काउँछ

त्यो रात सबैभन्दा खतरनाक हुन्छ
जो जीवित आत्माको अँध्यारो आकाशमाथि लम्पसार पर्छ
जहाँ मात्र उल्लुले धुन दिन्छन् र स्यालले “हुआं हुआं” गर्दै गीत गाउँछन्
जसको घरको मजेरी र बन्द ढोकाहरूमा अनन्त अन्धकार टाँसिन्छ

त्यो दिशा सबैभन्दा खतरनाक हुन्छ
जहाँ आत्माको सूर्य अस्ताउँदै छ
र मृत घामको केही टुक्रा
निराश मानिसको छातीमा कोपिन्छ

पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन
पुलिसको पिटाइ त्यति खतरनाक हुँदैन
गद्दारी र लोभले मुठ्ठी पनि त्यति खतर्नाक हुँदैन
सबैभन्दा खतरनाक कुरा हो
मुर्दा शान्तिले भरिनु
छटपटी नहुनु , सबै कुरा सहनु
घरबाट सरासर काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतरनाक कुरा हो
हाम्रा सपनाको मृत्यु हुनु।

(पञ्जाबका लोकप्रिय कवि अवतार सिंह ‘पाश’ (१९५०-१९८८) को यो कविता पञ्जाबीमा लेखिएको थियो । भारतमा भएको राजनीतिक आन्दोलनको समयमा हिन्दी भाषाबाट संसारभरि यो कविता लोकप्रिय बन्यो । सैंतीस वर्षको उमेरमा खालिस्तानी आतंकवादीहरूले उनको हत्या गरेका थिए ।)