तिम्रो मायाजालमा फसेकाहरूले
तिम्रो सुन्दरताको बयान गर्दा
लाग्थ्यो कान थापेर सुनिरहुँ
सुटुक्क भेटी आँखा झिमिक्क नगरी हेरिरहुँ

तिमीसँग भेट्ने रहरले
मैले मन थाम्न सकिनँ
मन र मस्तिष्क बीचको
लामो मथिंगल पश्चात
व्यस्ततालाई एकैछिन थाँति राख्दै
तिमीलाई नजिकबाट नियाल्न खोजेँ
तिमीले लजाएर बादलको घुम्टो ओढ्यौ
घुम्टो हटाउन हावाको मद्दत मिलेसँगै
सूर्यको प्रकाशले तिम्रो मुहारमा
निखारपन र सुन्दरता बढाउँदा
मैले कल्पना गरेको क्लियोपेट्राको सौन्दर्य
तिमी सामु धमिलो देख्छु
मोनालिशाको मन्द मुस्कान फिका देख्छु

तिम्रो मुस्कानसँगै
सौन्दर्यको वर्षा हुँदा
सिन्चित हुन्छन् असंख्यक मानिसहरूको मन
विजारोपण गर्छ्यौ तिमी प्रतिको गहिरो मोह
तिमी अद्भूत सुन्दर छौ सबैको प्रिय पनि
आँगनको चियाबारी अनि तिम्रो नानाथरिका श्रृंगारले
धेरै मानिसहरूको ध्यान खिँचेको छ
तिमीले आफ्नो सुन्दरतासँगै विश्वका
मानिसहरूलाई आकर्षण गर्दा
लाग्छ तिम्रो स्पर्शले
उनीहरूको मनमा आनन्द हुँदो हो
वरिपरिका मजदूरहरूले
तिम्रै सुन्दरताको नाउँ जप्दै
गाँस, बास र कपासको जोहो गर्दा
तिनीहरूको अन्तरमनबाट आशीर्वाद मिल्दो हो

तिमीप्रति म नतमस्तक हुन्छु
ए..! “कन्याम”
मैले तिमीलाई सुटुक्क मुटुमा राखेको छु
होस गर्नु है तिमीले
कसैले तिम्रो नाम के हो?
भनी खुसुक्क सोध्न सक्छन्
मानिसहरूले जथाभावी तिम्रो
सुन्दरता बिगार्ने काम गर्न सक्छन्
त्यतिखेर तिमीले म “कन्या” हुँ भन्नु है
को कन्या भनी प्रतिप्रश्न गर्दा “म” भन्नु है
किनकि तिमी सधैँ कन्या रहनु पदर्छ

तिम्रो नजिकै सुन्दर पगरी गुथेर बसेकी
दार्जिलिङलाई देख्दा
कतै खोट छ झैँ लाग्छ
लहरमा मिलेर बसेकी
सुन्दरी पहाडकी रानीले
मानिसहरूलाई गहिरो प्रेम गरेको बदलामा
उपहार स्वरुप कुरूप बनाउन लाग्नेहरुको लर्को देख्छु
त्यसैले त तिमी सधैँ कन्या रहनु पर्छ
तिमीले कयौं पुस्ताको स्पर्श पाउनु पर्छ
धन्य छ `कन्याम´ तिमीलाई
तिमीले देशलाई श्रृङ्गारेकी छौ
‘अतिथि देवो भवः” भन्दै
पाहुनाहरूको ओइरो लगाई दिएकी छौ ।