कुनै दिन
एकाएक परास्त हुनुपर्ने छ–
विशाल क्षेप्यास्त्रहरूले सूक्ष्म अणुसँग
र स्वतः निहुरनुपर्ने छ–
शस्त्र–अस्त्रका पहाडहरूले अल्प विषाणुसँग
सोच्नै सकिन्नथ्यो !

कुनै दिन
अनायास बिच्कनुपर्ने छ–
विश्वविजयी मानवले अज्ञात भयसँग
र रित्तै फर्कनुपर्ने छ–
अहम्को चुलीबाट रोकेर होडको ध्वजारोहण !
फुकाल्नुपर्ने छ–
सम्पन्नताको धुरीबाट ओर्लेर सर्वशक्तिमान तक्मा !
अनि,
चट्टानका छातीहरूले आँसुको थोपासँग
पग्लनुपर्ने छ
सोच्नै सकिन्नथ्यो !

जोतेर ज्ञानका चौँडा फाँट
जसै थकाइ मार्लान् हलीहरू
अनायास राँटो रहला कुनाकानी
ढिलोगरी फुट्ला दिउल
क्रमशः अङकुर लाग्ला
हाँगा सहस्र फाट्लान्
हुर्कनुपर्छ अविदित सूत्र
झाँगिनुपर्छ कल्पवृक्ष
केहीबेर सुस्ताएको पो हो जीवनको गति !
‘असतोमा सद् गमयः’ !

थपेर विज्ञानका नौला अध्याय
कतै मख्ख पर्लान् विज्ञहरू
उर्लला कराल आँधी मच्चिएला दुन्दूभि
धमिलै बित्लान् केही प्रहर
सुस्तरी अहोरात्र ढल्ला
झिल्का तेज निस्केलान्
चम्किनुपर्छ शुभ्रकिरण
झल्मलाउनुपर्छ जगत
केहीबेर ओझेल परेको पो हो जीवनको पथ !
‘तमसोमा ज्योतिर्गमयः’ !

भोगेर अवसादका साँझ बिहान
प्रियजनको अन्तिम बिदाइपछि
सार्नुपर्ने छ कलमी सुनाखरी
भुल्नुपर्ने छ भयानक क्षण
नूतन यामहरू आउलान्
हट्ला रुखासुखा विषाद
बग्नुपर्छ पियूसको मूल
भरिनुपर्छ सञ्जीवनी ताल
केहीबेर मौन बसेको पो हो जीवनको रह !
‘मृत्योर्मा अमृतम् गमयः’ !

जीवन जय हो पराजय होइन
खुल्नुपर्छ ज्ञानचक्षु
फिँजिनुपर्छ चेतनापख
रोक्नु हुन्न धौकनी
स्पन्दन चलाइरहनुपर्छ
सरगम बोल्नेछन् धमनीपत्तीहरू
मन्द्र सप्तक सुन्नुछ जीवनको ध्वनि
सा.रे.गा.म.प.ध.नि.सा !