हरे ! यो कारा कस्तो कोप्चो होचो
भुई छाना क्यै नमिलेको
ठ्याक्क नरिवलजस्तो
बिजुलीबत्ती सिरक सिरानी डसना तन्नाको
कुरो के गर्नु
लाज ढाक्न एक सुतो धागो सुध्द नभएको
सर्वाङ्ग हिलैहिलोमा लतपत
घरि थरथरी काम्नु पर्ने
घरि ज्यानै पोलेजस्तो
चित्त बुझ्ने कुरै भएन
बाहिर आऊँ कसरी
झ्याल ढोका क्यै भेट्दिनँ
कुप्रिएर, खुम्चिएर, गुटमुटिएर
रोएर अथवा हाँसेर
त्यही बस्नु पर्ने आठै प्रहर
हरे ! कस्तो अनौठो भाग्य मेरो !

यो अत्यासलाग्दो अँध्यारो दुनियाँमा
हो, मबाहेक कोही छैन
तै पनि एक्लै छु
भन्न मिलेन
सुनिराख्छु
भित्तामा अविराम ठोकिँदै गरेको
लयबद्ध तर नितान्त अपरिचित ध्वनि
टक… टक….टक….टक….
घरि घ्यारघ्यार टर्रो
घरि खोलामा पानी उर्लिएजस्तो
खै, कसैले कुनै सन्देश
पठाउन खोज्या त छैन
जति जतन गरे पनि
अर्थ्याउन क्यै सक्या छैन
हरे कस्तो अनौठो भाग्य मेरो !

खाँदैन क्यै, पिउँदिन पानी पनि
खै के भएर होला
दिनका दिन बढ्दै गएछ
कलिलो मलिलो ज्यान मेरो
मुन्टो घरि मास्तिर, घरि मुन्तिर
अहिले उत्तानो,
केही बेरमै घोप्टिन्छ ज्यान मेरो
हे प्रभो, कि त्राण देऊ,
कि प्राण हर
बाटो देखाऊ तर
दिनका दिन गर्छु याचना
खै, किन हो, सुन्दैन कोही
हरे, कस्तो अनौठो भाग्य मेरो !

एक दिन
मेरो याचना स्वीकृत भो क्यारे
काराका भित्ता हठात् भत्किए
चल्यो संघर्ष केहीबेर
बल्ल बन्धनमुक्त भएँ म
ओहो, बाहिरी दुनियाँ त झनै डरलाग्दो !
चारैतिर आँखा तिर्मिराउने उज्यालो
न टक टक, न घ्यारघ्यार
केवल थियो चर्को कोलाहल
र अपरिचित अनुहारको चहलपहल
स्तब्ध म एक मात्र बबुरो, अबुई !
निकैबेरपछि चेत खुल्यो
त्यत्रो तप ताप, अनुनय विनय
क्यै काम लागेन, ला !
फर्किया छु, त्यही चराचरी झमेलामा
चित्कार्दै म चिच्याएँ
त्राहिमाम् त्राहिमाम्
सुन्ने फुर्सद कसलाई तर
बच्चा रोयो, बच्चा रोयो
खुसियालीमै मगन सप्पै
हरे, कस्तो अनौठो भाग्य मेरो ।