सृष्टिका अद्भूत रहस्यमयी सृजनाहरू
अमूल्य र अवर्णनीय छन् प्राकृतिक वैभवहरू
लुटिँदैछ निरन्तर धर्तीमाताको जीवन्त अस्मिता
बढ्दैछन् मान्छेका तुच्छ स्वार्थलिप्साहरू

भूमण्डलका कालीगढी विष्मयी छटाहरू
अस्तित्ववान् कल्पनातीत चित्तचोर रुपरङ्गहरू
पारिँदैछ क्षतविक्षत् निसंकोच कोरा-विकासे लहडमा
देखिँदैछन् अकल्पनीय विकराल परिणामहरू

प्रकृतिका स्वनिर्मित र स्वचालित चक्रहरू
बिथोलिएका छन् जैवीक–अजैवीक नियमित अन्तर्क्रियाहरू
पराकाष्ठउन्मुख देखिँदैछ मानवीय धृष्टता र विवेकहीनता
देखिँदैछन् पर्यावरणीय अनपेक्षित प्रतिक्रियाहरू

जलाउँछन् घर यहाँ खरानीको लागि बहुलठ्ठीजनहरू
पिँडी पुर्न आगन खन्छन् अबुझ पटमूर्खहरू
कुवा सुक्यो, बाँदर लुक्यो भन्दै रुखबिरुवा काट्न उर्दी जारी गर्नेहरू पनि छन् यहाँ
प्रकृतिको परमार्थ नबुझ्ने अल्पज्ञानी मनुवाहरू

रहँदैन जीवन सुरक्षित केहीगरी प्रकृति नजोगाएसम्म
“लोभको भाँडो उभिन्डो” भरिँदैन कहिल्यै टम्म
प्रकृति-प्रेम अपरिहार्य छ जगत कल्याणको हेतु
सुरक्षित र स्वस्थ धर्ती नै हो जीवन र मरणको सेतु ।

*****