पहाडको घुम्तीजस्तै टेढोमेढो हुँदोरै’छ जीवनको बाटो
वर्षाकालको रातोमाटो जस्तै हुँदोरै’छ जीवनको बाटो

अक्कल नपुर्‍याए उछिट्टिन र गुल्टिन बेर लाग्दैन हिंड्दाहिंड्दै
विकट भिरपहरा छिचोल्दै गुज्रनु पर्दोरै’छ जीवनको बाटो
भूगोल, दिशा र समय फरकफरक भएजस्तै
सोच, अवस्था र परिवेश निर्देशित हुँदोरै’छ जीवनको बाटो
अवस्था र विकल्प बुझेर मात्र थाल्नु पर्दोरै’छ यात्रा
सोचेजति सरल र सीधा नहुँदोरै’छ जीवनको बाटो
कल्पनातीत अवरोधहरू आउन सक्छन् जीवन-यात्रामा
सीमाबद्ध समयमा पार नहुन सक्छ जीवनको बाटो
कुहिरोले ढपक्क ढाक्न सक्छ अगाडिको बाटो र सेरोफेरो
अत्यास नमानी छामीछामी काट्नुपर्छ जीवनको बाटो
बाधाअवरोध पन्छाउँदै मर्मत गर्दै हाँक्नुपर्छ जीवनरुपी गाडी
विश्वासको गियर बढाउनै पर्छ गन्तव्यमा पुग्न जीवनको बाटो
आवेश, हठ र इगोले दुर्घटना पनि हुनसक्छ कुनै कालखण्डमा
विवेक, धैर्य र समझदारीले सहज बनाउँछ जीवनको बाटो
अनगिन्ती जोखिम र संकट झेल्नुपर्ने हुनसक्छ गन्तव्यमा पुग्न
जुक्ति पहिल्याउँदै दृढतापूर्वक बढ्नुपर्छ जीवनको बाटो
मजबुत बनाउने कि कमजोर दूरदर्शी हुनैपर्छ समयमा
दृष्टिकोण, डिजाइन र गुणस्तरमा भर पर्छ जीवनको बाटो ।
*****
लमही, दाङ