म ढुङ्गो पुज्छु
प्रकृति चाहिन्छ
विश्वास पूर्खाको
संस्कृति पनि चाहिन्छ
जीवन सञ्चालनका लागि
एक प्रक्रिया पनि चाहिन्छ
तर
यसै प्रक्रियामा
कोही देवता बन्छन्
कोही राक्षस बन्छन्
दुवै अरुलाई दाल्छन्
दुवै अरुमाथि
सवार हुन्छन्
दुवै पूजाको
आश गर्छन्
दुवैको चाहना
आफू अग्लिने हो
दुवैको प्रयास
आफू प्रमुख हुने हो
दुवै तमासे हुन्
दुवै जयजयका भोगी हुन्
दुवै सिंहासन खोज्छन्
दुवै संग्राम रोज्छन्
दुवैलाई अरु अग्लिएको
अरु पूजिएको मन पर्दैन
दुवै अरु अग्लिनेमाथि
हतियार उठाउँछन्
शक्ति प्रदर्शन गर्छन्
चाहे ती व्यक्ति वा नेता हुन्
चाहे ती राष्ट्रहरूका प्रमुख हुन्
त्यस्ता प्रवृत्ति बोकेका
देवता वा राक्षस
दुवै मेरो मूल्याङ्कनमा
उस्तै हुन्
त्यसैले
म राक्षस त पुज्दिन पुज्दिन
देउता पनि पुज्दिन।