साँहिलीको पसिनाको मूल निधारबाट झर्यो
नाकको फुली छोएर ओठमा एकछिन अडियो
केहीबेर अल्मलियो र भारीले थिचेको ओठसँगै काँप्यो
स्तनको कापामा पुगेर देहमा छिरलियो
अनि ‘सुइय्य’ गर्दै उनको सुस्केरासँगै हरायो
साँहिलीको नित्य दैहिक गति त्यही हो
साँहिलीको श्रमको अर्थ त्यही हो
जन्मनुको अर्थ भित्र बगेको
साँहिलीको देहमा फैलिएको पसिनाको सुगन्ध
कविका शब्दहरूले पोखेको करुणा चिराग
उति धेरै उनी बोल्दिनन्
बडेमाको इँटाको भारीले थिचेको देह
नुहेको छ चरणतिर
त्यसैले बोलेको पनि हत्तपत्त सुनिदैन
सुने पनि बुझिदैन
उनले पसिना पोख्नुलाई भाग्य भन्दछिन्
त्यही भाग्यलाई सराप्दै
भारी उठाएर गृह कंकालतिर लाग्छिन्
उनी जब बोल्दछिन्
घर जाने बाटोभरि एक्लै
भोलि र पर्सिका लागि बोल्छिन्
आफ्ना लागि बोल्दिनन्
सन्तानका भविष्यको लागि
उनीहरूको उज्यालोको लागि गुन्गुनाई रहन्छिन्
अचेल कुरा बुझ्न थालेकी छन् साँहिलीले
उज्यालोको लागि झ्याल खोल्नु पर्छ भन्ने
नयाँ युगको लागि आवाज बोल्नु पर्छ भन्ने
त्यसैले पोखिएका पसिना भन्दा महँगो
उनलाई युगको आवाज बोलुँ बोलुँ लाग्छ
चेतनाको प्रकाश देखुँ देखुँ लाग्छ
ज्ञानको क्षितिज चढुँ चढुँ लाग्छ
तर किन किन बोल्नै सक्दिनन्
आवाज सुत्नको लागि हैन
उनले गम्दैछिन्, आवाज उठ्नको लागि हो भन्ने कुरा
आवाज ब्युँझनको लागि हो
बुझ्दैछिन् पसिना भन्दा ब्युँझाउने आवाज महँगो छ भन्ने कुरा
निष्पट अँध्यारो रात
तर्साउने महाकाल झरी
आज निसास्सिने झरीको हैन अर्कै आवाजसँगै !
असौजे बाढीको घनघोर सप्को आयो
अन्धकार रातमा सपनाको उज्यालेले
बर्बराइरहेका साँहिलीका सन्तान
ब्युँझन नपाई आमासँगै सबै बगायो
अर्को बिहान खोलाको झुपडी छेउ एकोहोरो शंख बज्यो
शंख ध्वनिले चिहान जस्तै बन्यो घरको भग्नावशेष
घरै तलको बगर कयौँ देहले छोप्यो
शंख फुकेको आवाज आइरह्यो
त्यो एकोहोरो आवाज
जीवनको अन्त्यपछि
प्रकृतिबाट उठ्नको लागि शंख फुकिन्छ
स्वरभित्र दबिएको साँहिलीको सुस्केरा
भारीभित्र अठ्ठिएको उनको चेतन झिल्को
अँध्यारो रातभित्र फैलिएका सुकिला सपनाको उज्यालो
सब भष्म बन्यो
र हिलोमा लत्पतिएको साँहिलीको मुर्छित देह
अनि उनका तीन मृत सन्तानहरूको लस्कर
आकाशतर्फ चियाई रहेका उनीहरूका आँखाहरू
मुर्छित शहरमा करुणा एक्कासि हाँस्यो
खै के भएर हो कविको आँशु
साँहिलीको पसिना झैँ गालामा झर्यो
ओठ पिट्यो र छातीमा टाँसियो
त्यतै कतै हरायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 










