योद्धा
वियोगी बुढाथोकी

वियोगी बुढाथोकी
विछोडको छोटै समयावधिमा
अचानक समृध्द राजधानीको सडकपेटीमा
अकस्मात् भेटियो योध्दा मित्र !
हर्षातिरेक हात मिलाउन खोज्दा हच्किएर अस्वीकार गर्यो
कारण खोलेन
हात दिन इन्कार गर्यो
बरु परिणाममा सद्दे मुन्टो मात्रै बटारेन
डर लाग्दो गरी आँखा तर्यो
हच्किन बाध्य बनायो
अचानक यो मस्तिष्कको फाँटमा
त्यो दिन, त्यो पल एक्कासी उज्यालियो
हिम्मतको हतियार बोकेर जुन दिन
झिसमिसे उमेरमा
कलम फाल्नुको अर्थ
अभावमा आगोको लप्कासँग सम्झौता अर्थात् सम्मोहित हुँदा
सायद
उस्ले कलममा भन्दा बन्दुकमा सुन्दर भविष्य देख्यो !
निडरका साथ ऊ जंगलतर्फ डोरिएको हेर्दा नथाकेका आँखा
मात्र, किंकर्तव्यविमूढ टोल्हाएथे
तथापि बाध्यतावश सम्हालिएर शुभकामना दिएथें
अहिले लाग्दै छ त्यो सपना थियो कि विपना
कसैको लहड थियो कि बाध्यता
प्रश्न अनुत्तरित नै रह्यो !
ऊ र ऊजस्तै समर्पित
आफन्ती मजबूत हुने कतिपय कमजोरले
पाएको अचम्मित हैसियतमा
चिल्ला गाडीमा सिंहदरबार छिरेको दृश्य देखेर
टोल्हाएर आँसु झार्दै रहेछ
उस्को भक्कानिएको मनको आँखाबाट झर्दै गरेको साउने भेल
रोक्ने प्रयत्न गर्दैगर्दा
एक कदम पछाडि सर्दै अचानक मुस्कुराएर भन्यो
न्वारनमा नामै राख्न बिर्सिएको जनयुध्दको उपलब्धिमा
संवेदनशील अंग गुमाउनुको नतिजा
असफल र अयोग्यको दृष्टिकोणले हरियो
हो, त्यही समय
विदेशी नजरले कमाण्डर हुँदाको साहस र दृढसंकल्पित हिम्मत देखेर
ममाथि आँखा गाडेको रैछ
तत्कालै परिवारको आधा पेट काटेर भरथेग जोरजाम गरेको
खाता रित्याएर
विदेशी भूमिमा पुगेर विदेशीकै लागि लड्दैगर्दा
खै कुन समय, कसरी ढलें पत्तै भएन
ब्यूझिँदा
हिन्दी सिनेमा सोलेका सफल खलनायक
सन्जीवकुमारको हैसियतमा रुपान्तरित हुँदाहुँदै
असफल योद्धामा प्रमाणित भएँ
अब तैं भन मित्र
तँसँग मिलाउने हात नै कहाँ बाँकी थियो र मिलाउनु ?
के तँ हितैषीको नाताले तेरो एउटा हात मलाई सापट दिन सक्छस् ?
०
शिवपुरी सन्देश निवास
हात्तीगौंडा
(तीसका दशकका कवि बुढाथोकी प्रशिद्ध साहित्यिक द्वैमासिक पत्रिका ‘शिवपुरी संदेश’ का सम्पादक हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










