एउटा निःशब्द फूलसँगै आफैँलाई तुलना गर त तिमी
बीज रोपेर बल्लतल्ल उम्रिएको फूल र तिमीमा
के भिन्नता छ ?
भरखर बिरुवा उम्रिएपछि
कोही आई त्यो बिरुवालाई कुल्चिदिँदा
ऊ निःशब्द
त्यस्तै बालापन मै कोही आएर
तिम्रो जीवनसँगै खेलिदिँदा
तिमी निःशब्द
भर्खर मात्र मुनाहरू पलाउँदै गर्दा पनि
कोही आएर ती मुना टप्प टिपिदिँदा
ऊ अझै निःशब्द
बढ्दो उमेरसँगै, भर्खर कोपिला लाग्दै गरेको तिम्रो यौवनमा
कसैको गिद्दे नजर परेर, अनेक नामले तिमी पुकारिँदा
तिमी निःशब्द
मुनाहरू फिँजिदै कोपिला फक्रिदै गएपछि चट्ट देखिएको फूल
कोही आई पत्रपत्र पारेर चुडिदिँदा
ऊ निशब्द
परिपक्क तिम्रो यौवनमा कोही नरपशुले आक्रमण गरि
तिमीलाई यत्रतत्र पारेर छोडिदिँदा
तिमी निःशब्द
बालापनमै चोरिँदा निःशब्द,
फूल्न नपाउँदै चोरिँदा निःशब्द
फक्रिदै गर्दा चोरिँदा निःशब्द
फक्रिसकेपछि चोरिँदा निःशब्द
अब भन
कहिले उठाउँछौ तिमी शब्द ?
एकल तिमी
आँट जुटाई पोख्यौ आफ्ना शब्द
तर जवाफ उही
तिम्रो पहिरन
हो ! मानिलिऊँ पहिरन नै सही
एक नौ महिने बालिकाको पहिरन
उसको डाइपर
यहाँ पनि कारण पहिरन नै बन्ला
यतिबेला तिम्रा शब्द छन्
तर जवाफ निःशब्द
अब फूललाई जोगाउन पहिरन तोकिदिऊँ
भैगो ऊ त बोल्न सक्दैन
यताउता डुल्न सक्दैनँ
त्यो भन्दा
अब बालिकालाई डाइपर होइन अरु नै कुनै पहिरन तोकिदिऊँ
अनि पुन तुलना गर त तिमी
तिमी र निःशब्द फूलको भिन्नता
भिन्नता होइन समानता एकै पाउँनेछौ
केवल निःशब्द ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।