आदिम युगहरूमा तिमी र म
एउटै छहारीमुनि बसेर
हुर्कायौँ आ–आफ्ना सन्तानहरू !

अफसोच् !
किन हराइरहेछन् फरक आकृतिका एउटै रङहरू ?
किन चर्किरहेछन् बारम्बार ऐनाहरू ?
बारम्बार देख्छु म निलो आकाशमा
आफ्नै गतिमा टुक्रिरहेका रक्तकणका धागोहरू !
विखण्डनको उत्कर्षमा बजिरहेछ मानवताको बाँसुरी
त्यसैले त हरेक दिन निर्वासित भइरहेछन् युगहरू !

तिम्रो उत्पीडनले मलाई
मेरो उत्पीडनले तिमीलाई
किन थपिरहन्छ विक्षिप्तता ?
हामी त एकाकार भएर
धरती सिँगार्ने सिर्जनशील श्रमजीवी पो त !
अनायास कसरी विनिमय गर्ने दलाल भइसकेछौँ ?
ओहो !
हामीले त प्रकृतिको चुलोमा
साझा सपना भर्भराउनु पो पर्ने
तर किन भुलिरहेछौँ –
पहिचानको नाममा आफ्नै हुलिया ?

जब पुँजीवादको दास बनेर
उत्तर आधुनिकताको सँघारमा उभिएर
साम्राज्यवादको छाती फुलाउन नपाउँदै
भत्किने छन् षड्यन्त्रका बाँधहरू
तब एकाएक हराउने छन् अस्थिपञ्जरका विशालु डामहरू
लखेटिने छन् बहुसङ्ख्यक बुख्याँचाहरू
त्यो दिन एउटै आँगनमा
मृत्युहरूको शोकसभा हुने छ !
र, विजयको झण्डा बोकेर
उत्सव मनाउने छन् विभाजित मान्छेहरूले
बल्ल ब्यँुझिने छ शोकाकुल इतिहास !

जब एउटै आकाशमा झुल्किने छन्
समान आकाङक्षाको घाम र जून
तब हुने छैन आरम्भ कुनै विश्वयुद्धको
हुने छैन अतिक्रमण कुनै वर्णहरूको
र, उभ्याइने छैन कसैलाई वर्गीय कित्तामा !
हो त्यही दिन अन्त्य हुनेछ
विश्व मानचित्रमा तिमी र म बीचको साम्प्रदायिक द्वन्द्व
र बल्ल जन्मिने छ–
हाम्रो कोखबाट एउटा नवयुग !